नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सञ्चालनमा आउन अझै एकवर्ष लाग्ने



काठमाडौं,बैशाख ४ । देशकै राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण अगाडी बढाइएको नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गको मुख्य सुरुङ २.६८८ किलोमिटरको  सोमबार वारपार छेडिएको छ । आपतकालीन सुरुङ भने यसअघि गत साउन २२ गते छिचोलिएको थियो ।आपतकालीन सुरुङ २.५५७ किलोमिटर लामो छ । 

नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुका अनुसार सोमवार  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहभागी गराइऔपचारिक कार्यक्रमका बीच सुरुङ ‘ब्रेक थ्रू’ गरिएको हो । 

आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजना निर्माणको सुरुआती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपर्थ्यो ।

सुरुङ प्रयोगकर्ता काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमै आउजाउ गर्न सक्ने आयोजनाले जनाएको छ । आपतकालीन सुरुङबाट मुख्य सुरुङमा आउजाउ गर्न मिल्ने ७ वटा ढोका छन् ।

आयोजनामा तीनओटा अन्डरपास, चारओटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् ।  बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ । त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन)लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ । 

यो सुरुङमार्ग बनाउन २०७६ असोज ६ गते  जापानी कम्पनी हाज्मा–आन्दो र सरकारबीच सहमति भएको थियो ।  धादिङतर्फको जग्गा समस्या, सथानीयको अवरोध, कोरोना लगायतको कारण निर्माणमा ढिलाइ भएको थियो । 

प्रतिक्रिया दिनुहोस्