एकताको शन्देशसहित लेखा व्यवसायीबीच तेस्रो सम्मेलन सम्पन्न



काठमाडौं,बैशाख ८ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यान) द्वारा आयोजित लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय सम्मेलन समापन भएको छ ।

शुक्रबार देखि शुरू भएको सम्मेलनको समापनका अवसरमा  आयोजक संस्थाका कार्यकारी निर्देशक सन्जय कुमार सिंहाले लेखा व्यवसायीको एकता कायम गर्न यस्तो सम्मेलनको आयोजना गर्न थालिएको जानकारी दिए ।सम्मेलनमा लेखा व्यवसाय कसरी जाँदैछन्, राष्ट्रिय अन्तर्राष्ट्रिय चूनौति के हुन भन्नेबारेमा विस्तृत विमर्श गरिएको उनले जानकारी दिए ।

यसअघि सम्मेलनको उद्घाटन बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका थिए । उनले आर्थिक विकास र देशको समृद्धिका लागि लेखा व्यवसायीको महत्वपूर्ण भूमिका हुने बताएका थिए ।

आइक्यानका अनुसार सम्मेलन अवधिभर लेखा अभ्यास, लेखा व्यवसायीको जिम्मेवारी, दीगो व्यापार रणनीति, नियमन संयोजन लगायत विषयमा छलफल भएको छ । सम्मेलनमा देशभरबाट करिब नौ सय लेखा व्यवसायीहरुले भाग लिएका छन् ।

यस पटकको सम्मेलनमा लेखा व्यवसायीहरुको अन्तर्राष्ट्रिय नियामक निकाय इन्टरनेशन फेडेरेशन अफ एकाउन्टेन्ट्स (आइएफएसी)का अध्यक्ष आस्मा रेस्मौकी सहभागी भई आफ्नो मन्तब्य राखेकी थिइन् ।  

नेपालले लेखा व्यवसायमा अन्तर्राष्ट्रिय अभ्यासन भित्राइरहेका कारण आफ्ना कुरा सरोकारवालालाई सुनाउन र सरोकारवालाका कुरा सुन्ने उद्देश्यले यस्तो सम्मेलन आयोजना गरिएको आइक्यानको भनाई छ । आइक्यानको आयोजनामा सन् २०२२ मा पहिलो सम्मेलन भएको थियो । जसमा १३ सय जनाले भाग लिएका थिए । सन् २०२३ मा दोस्रो राष्ट्रिय सम्मेलन भएको थियो । जसमा १२ सय जनाले भाग लिएका थिए ।

सम्मेलनको दोस्रो दिन शुक्रबार अन्तिम सत्रमा कर्मा ब्याण्डको सांस्कृतिक कार्यक्रमसहित सम्मेलन समापन गरिएको छ । सम्मेलन बिहीबारदेखि काठमार्डौंमा सुरु भएको थियो ।

दुई दिनसम्म चलेको सम्मेलनमा साना तथा मझौला उद्योगको दीगो व्यवसाय रणनीतिबारेमा समेत छलफल भएको थियो ।  चार सत्रमा सञ्चालन भएको समारोहको तस्रो सत्रमा विद्यावारिधी सिग्देलले प्रस्तुती दिएका थिए । यस सत्रमा सुरेन्द्र श्रेष्ठ, एनआरएन विकास फण्डका सीइओ अनल राज भट्टराई र भायानेट कम्यूनिकेशनका सीइओ सेवा पाठकले छलफलमा भाग लिएका थिए ।

सम्मलेलनमा नियमनकारी निकायबीच समेत छलफल भएको थियो । नियामक निकायको तर्फबाट धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक अम्बिका प्रसाद गिरि, नेपाल राष्ट्र बैंकका निर्देशक राजन देव भट्टराई, नेपाल बीमा प्राधिकरणका उप निर्देशक बिरोध वाग्ले, कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार दीपक कुमार पहाडी, सहकारी विभागका उप रजिष्ट्रार तोला राज उपाध्याय, आन्तरिक राजस्व विभागका प्रमुख कर अधिकृत प्रकाश पौडेल र केन्द्रिय अनुसन्धान ब्यूरोका एसपी होविन्द्र बोगटीले छलफलमा भाग लिए ।

सम्मेलनकै अर्को सत्रमा क्षमता अभिवृद्धि र आगामी रणनीतिबारे छलफल भएको थियो । कुमारी बैंकका सीइओ राम चन्द्र खनाल, शशी सत्याल, मनमोहन राज काफ्ले, स्वीटी अग्रवाल र झलक मणी लम्सालले यस सत्रको छलफलमा भाग लिएका थिए । अन्तिममा बरिष्ठ संगितकार शम्भुजित बास्कोटाले आफ्नो अनुभव बाँडेका थिए ।

प्रतिक्रिया दिनुहोस्