‘हरेक व्यवसायमा मानव अधिकारको संरक्षण हुनुपर्छ’



काठमाडौं,बैशाख १७ । नेपाली श्रमिकमाथि विभिन्न खाले शोषण हुने गरेको कुरा नयाँ होइन । तर, अब यस्तो शोषण हुन नहुने सरोकारवालाले औंल्याएका छन् । सरकारले व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना तयार गरेपछि श्रमिकको मानव अधिकार संरक्षणमा आवाज बढ्न थालेको हो । 

यद्यपि कैयौं यूरोपियन मुलुकहरूले भने हरेक व्यवसायमा मानव अधिकारको संरक्षण हुनैपर्ने कानून बनाइसकेका छन् । व्यवसायमा मानव अधिकारको संरक्षणको अवस्था र गर्नुपर्ने काममा केन्द्रित रहँदै मानव अधिकारका लागि जनमञ्चले आयोजना गरेको अन्तरक्रियामा बोल्दै विज्ञहरूले सरकारले तयार पारेको कार्ययोजनाको बारेमा पर्याप्त प्रचारप्रसार हुन आवश्यक रहेको बताए । 

जनमञ्चका सल्लाहकार तथा श्रम, आप्रवासन विज्ञ सोम लुइँटेलले सरकारले तयार पारेको कार्ययोजना कार्यान्वयनमा लैजान आवश्यक रहेको बताए । ‘बनेका योजना, नीति कार्यान्वयन हुनुपर्छ,’ उनले भने, ‘यसअघि पनि वैदेशिक रोजगार नीति ५ वर्षमा पुनरवलोकन गर्ने भनिएको छ, तर २०६८ मा बनेको त्यो नीति जस्ताको त्यस्तै छ ।’ व्यवसाय र मानव अधिकार संरक्षणका लागि बनाइएको कार्ययोजनामा ६ वटा पिलर राखिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको हक, अधिकार संरक्षण पनि एउटा पिलरमा पर्छ । 

सोही कार्यक्रममा बोल्दै वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष डिकबहादुर खत्रीले युवालाई विदेश पठाउन सहजीकरण गर्दै आएका ९७१ म्यानपावरमध्ये ३० प्रतिशत श्रमिकका हक, अधिकारको संरक्षणमा सचेत रहेको बताए । ‘बाँकीलाई पनि सचेत बनाउन आवश्यक छ,’ उनले भने, ‘यसका लागि म्यानपावरहरू सक्षम हुनुपर्ने देखिन्छ ।’ 

राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव नवराज सापकोटाले सानोदेखि ठूलो व्यवसाय गर्ने सबैले निश्चित मापदण्ड बनाउन आवश्यक रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्