यसकारण बिहीबार देशभर इन्टरनेट सेवामा समस्या !



काठमाडौं,बैशाख २१ । नेपालका इन्टरनेट सेवा प्रदायकहरूलाई ब्याण्डविथ उपलब्ध गराउँदै आएको भारतको एयरटेलले ब्याडविथ घटाउँदा देशभर इन्टरनेट सेवा अवरूद्ध भएको छ । देशका ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक, सुबिसु, भायनेट लगायतकाे इन्टरनेट सेवामा बिहीवार दिउँसोदेखि समस्या आएको थियोे ।

नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले प्रयोग गरेको एयरटेलको ब्याण्डविथ बापतको झण्डै ३ अर्ब भारतीय रुपिया उपलब्ध नभएपछि ब्याण्डविथ घटाएको आईएसपानका पूर्वअध्यक्ष भोजराज भट्टले बताए । उनका अनुसार ब्याण्डविथ पूर्णरूपमा बन्द नगरेपनि ६० प्रतिशतसम्म घटाउने गरिएको छ । 

रकम तिर्न भन्दै आईएसपानलाई पत्रमार्फत दबाव दिँदै आएको एयरटेलले अहिले झण्डै ६० प्रतिशत ब्याण्डविथ घटाएको वर्ल्डलिंकका निर्देशक लक्ष्मण यादवले जानकारी दिए । ‘भारतीय सर्भिस प्रोभाइडरले नै डाउन गरिदिएको छ,’ उनले भने, ‘मन्त्रालयले अड्काइदिँदा हामीले पैसा तिर्न सकेका छैनौं । त्यसैले डाउन गरेको होला । हामी सम्पर्क गर्दैछौं ।’ 

नेपालका इन्टरनेट सेवा प्रदायकहरूले भारतको एयरटेलबाट लिएको ब्याण्डविथको पैसा तिर्न नपाएकाले जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुन सक्ने बताउँदै आएका थिए । डलरमा भुक्तानी गर्नुपर्ने भएपनि सरकारले डलर सटहीका लागि स्वीकृति नदिँदा ब्याण्डविथको रकम करीब एक वर्षदेखि भुक्तानी हुन सकेको छैन । नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीले भारतीय कम्पनी एयरटेललाई इन्टरनेट ब्याण्डविथबापत १२ महीनाको रकम भुक्तानी गर्न बाँकी छ ।

एयरटलले ब्याण्डविथ घटाएपछि कहिलेसम्म इन्टरनेट अवरूद्ध हुन्छ भन्ने निश्चित नभएको यादवको भनाइ छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेवा प्रदायकहरूलाई मर्मतसम्भार शीर्षक अन्तर्गतको बेरूजु रकम नतिर्दासम्म विदेशी मुद्राको सटही सुविधा नदिने भन्दै सटही सुविधा दिएको छैन ।

यता इन्टरनेट सेवा प्रदायकहरूले मर्मत तथा सम्भार शीर्षक गैरदूरसञ्चार सेवा रहेको र यसमा रोयल्टी नलाग्ने बताउँदै आएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण (ग्रामीण दूरसञ्चार विकाष कोष) आरटिडीएफ विनियमावली २०६८ को विनियम ५ (१) बमोजिम अनुमतिपत्रप्राप्त व्यक्तिले प्रत्येक वर्ष आफूले सञ्चालन गरेको दूरसञ्चार सेवाबाट प्राप्त गरेको वार्षिक आयको दुई प्रतिशतका दरले हुने रकम ग्रामीण दूरसञ्चार विकास कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । तर, मर्मत तथा सम्भार गैरदूरसञ्चार सेवा रहेको भन्दै आरटिडीएफ नलाग्ने आईस्पानको भनाइ छ । ग्राहकबाट लिइएको शुल्कको आरटिडीएफ तथा रोयल्टी बापतको रकम इन्टरनेट सेवा प्रदायकहरूले नेपाल सरकारलाई तिर्दै आएका छन् ।

नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीले भारतको एयरटेल, टाटा र चीनको चाइना टेलिकमबाट ब्याण्डविथ ल्याउने गरेका छन् । एयरटेलले ब्याण्डविथ घटाउँदा इन्टरनेट बन्द भने नहुने तर गति कम हुने जानकार बताउँछन् । 

नेपाल टेलिकम र एनसेलको इन्टरनेट सेवा भने चलिरहेको थियोे । 

प्रतिक्रिया दिनुहोस्