फिलिपिन्समा खडेरीले बाँध सुकेपछि शताब्दीयौं पुरानो शहरको भग्नावशेष फेला



न्युबा एसिजा (फिलिपिन्स),बैशाख २२ । फिलिपिन्समा खडेरी र बढ्दो तापक्रमका कारण एउटा प्रमुख बाँध आंशिकरूपमा सुक्दा झण्डै ३०० वर्ष पुरानो शहरको भग्नावशेष देखिएको छ । 

जलाशय निर्माणका लागि सन् १९७० को दशकमा डुबेको पन्तबङ्गन शहरको भग्नावशेष देखिएको हो । पानीमा डुबेपछि यो शहर सुख्खायाम वा तापक्रम बढेका बेला अत्यन्त दुर्लभ अवसरमा मात्रै देखिन्छ । 

राजधानी मनिलाबाट करीब २०२ किलोमिटर उत्तरमा रहेको यो सहरमा भग्नावशेष पुनः देखा परेपछि पर्यटक आकर्षित भएका छन् ।

देशको बाँध सञ्चालन गर्ने सरकारी निकायका इञ्जिनियर मार्लोन पालाडिनले समाचार संस्था एएफपीसँगको कुराकानीमा भने, ‘गत मार्चमा उक्त क्षेत्रमा पानी नपरेकाले भग्नावशेष फेरि देखिन थालेको थियो ।’ 

अहिले लगभग आधा देशले खडेरीको सामना गरिरहेको छ, धेरै क्षेत्रहरूमा तापक्रम उच्च छ ।  

बाँध निर्माण भएयता अहिले यो शहर सबैभन्दा लामो समय पानीभन्दा माथि रहेको देशको बाँध सञ्चालन गर्ने सरकारी निकायका इञ्जिनियर मार्लोन पालाडिनले समाचार संस्था एएफपीसँग बताए । 

फिलिपिन्समा चरम गर्मीले लाखौंको दैनिक जीवनमा बाधा पुर्‍याएको छ । यहाँका विद्यालय बन्द गरिएका छन् । कार्यालयमा पनि कर्मचारीलाई घरबाट काम गर्न सल्लाह दिइएको छ । 

मौसम ब्यूरो पगासाका मौसमविद् बेनिसन एस्टारेजाले बीबीसी न्यूजसँगको कुराकानीमा आगामी दिनमा तापक्रम अझै बढ्ने बताएका छन् । ‘फिलिपिन्समा जलवायु परिवर्तनको सामान्य प्रभाव तातो तापक्रम हो । हामीले जुन गर्मी अनुभव गरिरहेका छौं, यो आगामी दिनमा निरन्तर बढ्न सक्छ,’ एस्टारेजाले भने । 

दक्षिण पूर्वी एशियाली राष्ट्र जलवायु परिवर्तनको प्रभावबाट विश्वमा सबैभन्दा बढी जोखिममा रहेको देशमध्ये एक हो । यहाँ ओसिलो मौसमका कारण सन् २०१३ मा आएको इतिहासकै सबैभन्दा शक्तिशाली सुपर टाइफून हाइयानजस्ता राक्षसी आँधीबेहरी आउन सक्ने जोखिम छ । देशको पूर्वी क्षेत्र प्रशान्त महासागरतर्फ पर्छ । 

एस्टारेजाले भने, ‘हामीले पान्टाबंगान र अन्य क्षेत्रमा समेत बाँधको सतह घट्ने देखेका छौं ।’ त्यहाँको पानीको सतह २२१ मिटरबाट करीब ५० मिटरले घटेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

फिलिपिन्सबाहेक बंगलादेशले पनि गर्मीका कारण कक्षा स्थगन गरेको छ, जसका कारण तीन करोड ३० लाख विद्यार्थी प्रभावित भएका छन् ।

थाइल्याण्डको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ को जनवरीदेखि अप्रिल १७ को बीचमा गर्मीका कारण ३० जनाको मृत्यु भएको छ । म्यान्मारको सीमापारि तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्