रोल्पामा सुनखानी खोज्न प्रस्ताव माग



काठमाडौं,जेठ १। सरकारले रोल्पा जिल्लाको सुनछहारी गाउँपालिकामा सुनखानी खोज्न अनुमतिपत्र वितरण गर्ने भएको छ । उक्त क्षेत्रमा सुनखानीको विस्तृत अन्वेषण गर्न अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने उद्देश्यले सरकारले सोमवार प्रस्ताव आह्वान गरेको छ । 

खानी तथा भूगर्भ विभागका अनुसार विभागको प्रारम्भिक अध्ययनमा उक्त क्षेत्रका चट्टानहरूमा सुनको मात्र भेटिएकाले विस्तृत अध्ययन तथा अन्वेषण गर्न निजी कम्पनीहरूबाट आवेदन माग गरिएको हो । 

सुन अन्वेषणका अतिरिक्त विभागले देशको विभिन्न भागमा तीनओटा चुनढुंगाको खानी, एउटा गे्रनाइट, एउटा डोलेमाइट, एउटा म्याग्नेसाइट र एउटा फलामको खानीबाट ती वस्तु निकाल्नका लागि पनि अनुमतिपत्र जारी गर्न प्रस्ताव आह्वान गरेको छ । विभागले दुईओटा फस्फोराइट खानीको थप अन्वेषण गर्न सूचना प्रकाशित गरेको छ ।

अन्वेषण अनुमतिपत्रका लागि सूचना प्रकाशित भएको मितिले ४५ दिनभित्र र खनिज खोतल्ने अनुमति पत्रका लागि ६० दिनभित्र आवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

विभागका खनिज स्रोत शाखाका उपसचिव शिवकुमार बाँस्कोटाका अनुसार हाल सुन अन्वेषणका लागि तीनओटा अनुमतिपत्र जारी भएका छन् । त्यसमध्ये दुईओटा अनुमतिपत्र रोल्पाको सुनछहारी गाउँपालिका भित्रकै लागि छ । ‘नयाँ आह्वान गरिएको प्रस्ताव पनि सुनछहारी गाउँपालिका भित्रकै नयाँ ठाउँको लागि हो,’ बाँस्कोटाले आर्थिक अभियानसँग भने ।

हाल भियना मल्टिपर्पोज ग्रूप प्रालि र क्लासिक मिनरल्स प्रालिलाई सुनछहारी गाउँपालिकाभित्रै सुनको खोजी गर्न अनुमति दिइएको छ भने सांग्रिला मिनरल्स प्रालिलाई प्युठानको स्वर्गद्वारी क्षेत्रमा सुन खोज्न अनुमति दिइएको छ । 

विभागका अधिकारीहरूका अनुसार विभागले दुईखाले सुनखानी खोज्न अनुमतिपत्र दिने गरेको छ । पहिलो, चट्टानमा पाइने प्राथमिक खानी हो र दोस्रो, खोलामा बगेर आएको सुनको स्रोत हो । सांग्रिलामिनरल्सलाई खोलामा बगेर आएको सुनको स्रोत खोज्न अनुमति दिइएको हो ।

बाँस्कोटाका अनुसार विगतमा बर्दियास्थित कर्णाली नदीकिनारमा, प्युठानको मादी नदीकिनारमा र दाङको राप्ती नदीका किनारमा सुन खोज्न अनुमतिपत्र दिइएको थियो । ‘केही स्वेदशी कम्पनी, चिनियाँहरूले दर्ता गरेको नेपाली कम्पनी र अन्य केही व्यक्तिले पनि अन्वेषण अनुमति लिएका थिए,’ उनले भने ।

‘यस्तो अनुमति ४ वर्षका लागि दिइन्छ । धेरैजसोले स्रोत पत्ता लगाउन सकेनन् र छाडे,’ बाँस्कोटाले भने । उनका अनुसार सुनको प्राथमिक खानी भने रोल्पाको सुनछहारी गाउँपालिका क्षेत्रबाहेक अन्य ठाउँमा हालसम्म भेटिएको छैन ।

यसै बीच सल्यानको कुपिन्डे गाउँपालिकामा रहेको जैटपानी चुनढुंगा, धादिङको रोराङ गाउँपालिकामा रहेको धुसेनी चुनढुंगा र अर्घाखाँचीको सितगंगा नगरपालिकामा रहेको शब्दु चुनढुंगा निकाल्न प्रस्ताव आह्वान भएको छ । 

त्यसैगरी, काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकामा रहेको काफलडाँडा ग्रेनाइट खानी, खोटाङको टुवाचुङ नगरपालिकामा रहेको बोजे डोलोमाइट, उदयपुरको त्रियुगा नगरपालिकामा रहेको कम्पुघाट म्याग्नेसाइट र रूकुम पूर्वको भूमे गाउँपालिकामा रहेको झुलावन फलाम खानी सञ्चालन गर्न पनि आवेदन माग भएको छ । 

विभागका अनुसार बैतडीको पुचौडी नगरपालिकामा रहेको संगौ फस्फोराइट र सोही जिल्लाको डोगाडकेदार गाउँपालिकाको ढिकगढ फस्फोराइट खानीको थप अन्वेषण गर्न पनि आवेदन माग भएको छ । 

विभागका प्रवक्ता मोनिका झाले विभागले शुरुआती अन्वेषण गरेकोमा विस्तृत अन्वेषण गर्न सूचना निकालिएको बताए । ‘केही खानीबाट भने ती वस्तु निकाल्नकै लागि अनुमतिपत्र जारी गर्न लागिएको हो,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्