स्वचालित मार्गबाट २ अर्ब १५ करोड वैदेशिक लगानी प्रतिबद्धता



काठमाडौं,जेठ २ । स्वचालित मार्ग (अटोमेटिक रूट) कार्यान्वयनमा आएको २ सातामै २ अर्ब १५ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ । स्वचालित मार्ग वैशाख १६ र १७ गते सम्पन्न तेस्रो लगानी सम्मेलनमा सरकारले औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको हो । 

स्वचालित मार्गबाट आवेदन दिनेहरूको विदेशी लगानी स्वीकृत गरिएको पत्र इमेलमार्फत आवेदन दिनेबित्तिकै जान्छ र सोही आधारमा कम्पनी दर्तासमेत हुन्छ । हाललाई सरकारले ५० करोड रुपैयाँसम्मको विदेशी लगानीका कम्पनी स्वचालित मार्गबाट दर्ता गर्ने व्यवस्था मिलाएको छ । सरकारले सूचनाप्रविधि (आईटी)मा आधारित उद्योगका लागि भने लगानी रकमको न्यूनतम सीमा राखेको छैन । 

उद्योग विभागका अनुसार स्वचालित मार्गबाट विभिन्न २१ ओटा परियोजना स्वीकृत गर्दा २ अर्ब १५ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको हो । लगानी सम्मेलनको दोस्रो दिन वैशाख १७ गते उद्योग विभागले स्वचालित मार्ग कार्यान्वयनमा ल्याएको हो । वैशाखमा कुल ३८ ओटा परियोजना स्वीकृत हुँदा २१ ओटा स्वचालित मार्गबाट स्वीकृत भएका छन् । 

विभागका निर्देशक शंकरसिंह धामीले २ सातामै स्वचालित मार्गबाट उल्लेख्य रूपमा लगानीका परियोजना स्वीकृत भएको जानकारी दिए । ‘नियमित प्रणालीबाट लगानी आउँदा परियोजनाको संख्या २१ पुग्न हम्मे हुन्थ्यो,’ धामीले भने, ‘जेठ १ गतेसम्म हेर्दा २६ ओटा परियोजना स्वचालित मार्गबाट स्वीकृत भएका छन् ।’ 

यसले लगानीकर्तामा सकारात्मक सन्देश पुगेको भन्दै उनले लगानीसम्बन्धी कानूनहरू संसद्बाट संशोधन हुन सके थप सकारात्मक सन्देश जाने बताए । सरकारले ५० करोड रुपैयाँसम्मको सीमा तोके पनि स्वचालित मार्गबाट आउने लगानी प्रतिबद्धता हालसम्म अधिकतम १० करोड रुपैयाँ रहेको उनले बताए । ‘ठूलो लगानीको प्रतिबद्धता भने अहिले आएको छैन,’ धामीले भने । 

उद्योग विभागले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्न विद्युतीय (डब्ल्यूडब्ल्यूडब्ल्यू डट डीओआईएनडी डट जीओभी डट एनपी) प्रणाली तयार गरेको हो । यो साइटमा गएर लगइन गरेर प्रणालीले माग गरेको विवरण भरेपछि र ती सबै सूचना मिलेमा लगानीकर्ताले स्वचालित मार्गबाटै स्वीकृति पाउँछन् । सरकारले २०८० असोजमा उक्त रकमको सीमा तोकेर विदेशी लगानी स्वचालित मार्गबाट स्वीकृत गर्न सकिने सूचना राजपत्रमा प्रकाशित गरेको थियो ।

अटोमेटिक बाहेक साविकको नियमित प्रणालीबाट पनि लगानी स्वीकृत हुन्छ । साविकको प्रणालीमा बैठक बसेर निर्णय गरी लगानी स्वीकृत गरिन्छ । यी दुई माध्यमबाट गरी चालू आर्थिक वर्ष २०८०/८१ को १० महीनामा ३०७ ओटा परियोजनामा ४१ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ बराबर विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जानकारी दिएको छ । 

स्वचालित मार्गबाट धेरै परियोजना स्वीकृत हुनेमा साविकको जस्तै पर्यटनक्षेत्र रहेको छ । स्वचालित मार्गबाट पर्यटनका ११ (५२ प्रतिशत), सेवाका ५ (२४ प्रतिशत) र आईसीटी क्षेत्रका ४ (१९ प्रतिशत) परियोजनाको लगानी स्वीकृत भएको छ । वैशाखमा सबै आईसीटीसम्बन्धी परियोजना स्वचालित मार्गबाट मात्रै आएका छन् । 

यस्तै उत्पादनमूलक क्षेत्रको एउटा परियोजनाका लागि लगानी स्वीकृत भएको छ । ऊर्जा र कृषिमा लगानी प्रतिबद्धता आएको छैन । साना, मझौला र ठूला उद्योगका परियोजना दर्ता र लगानी स्वीकृत गर्दै आएको विभागको तथ्यांकअनुसार चालू आवको १० महीनामा साना स्तरका उद्योग परियोजनाको संख्या धेरै छ । यो अवधिमा विभागमा साना स्तरका मात्रै २९० ओटा परियोजना स्वीकृत भएका छन् । मझौला १३ र ठूला स्तरका जम्मा चारओटा परियोजनाको लगानी स्वीकृत भएको विभागको तथ्यांकले देखाउँछ । 

प्रतिक्रिया दिनुहोस्