रासायनिक मलको मौज्दात अपर्याप्त : वर्षे धानबालीलाई अभाव नहुने सरकारको दाबी



काठमाडौं,जेठ ११ । असार–साउन महीनामा लगाइने धानका लागि चाहिने रासायनिक मल हालको मौज्दात परिमाणले नपुग्ने देखिएको छ । तर थप मल पनि आयात हुने क्रममा रहेकाले वर्षे धानबालीका लागि यसको अभाव नहुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दाबी गरेको छ ।

मन्त्रालयका अनुसार वर्षे धानबालीका लागि करीब २ लाख ३० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । तर कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनको गोदाममा यतिबेला ९९ हजार मेट्रिक टन मात्र मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतवार जारी गरेको विज्ञप्तिअनुसार यतिबेला कृषि सामग्री कम्पनी लिमिटेडसँग ५१ हजार १ सय ७१ मेट्रिक टन युरिया, ५ हजार २ सय ८६ मेट्रिक टन डिएपी र ८ हजार ६ सय ६७ मेट्रिक टन पोटास मौज्दात छ । त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग २७ हजार १ सय ६८ मेट्रिक टन युरिया, ३ हजार ८ सय ६२ मेट्रिक टन डिएपी र ३ हजार ६८ मेट्रिक टन पोटास मौज्दात छ । दुवै कम्पनीसँग गरी यतिबेला गोदाममा कुल मल मौज्दात ९९ हजार २ सय २५ मेट्रिक टन रहेको छ । यद्यपि हाल भित्रिने क्रममा रहेको मलको परिमाण समेत जोडेर हेर्दा थप ३ लाख ६३ हजार मेट्रिक टन मलको सुनिश्चितता भएको मन्त्रालयले जानकारी गराएको छ । 

मन्त्रालयका अनुसार कृषि सामग्री र साल्ट ट्रेडिङले २ लाख ४४ हजार ६ सय ४६ मेट्रिक टन युरिया, ९७ हजार ८ सय ६५ मेट्रिक टन डिएपी र २० हजार ६ सय मेट्रिक टन पोटास आयात गर्दै छन् । सो परिमाणको मल विभिन्न चरणमा खरीद भएर भारतका कोलकाता र विशाखापत्तनम् लगायत स्थानमा लोडिङ तथा प्याकेजिङ हुने प्रक्रियामा रहेको बताइएको छ । उक्त मल धान रोपाइँ हुने समयभित्र कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङको गोदाममा आइपुग्ने मन्त्रालयकी प्रवक्ता सवनम शिवाकोटिले बताइन् ।

‘अहिले हामीसँग आवश्यक परिमाणमा मल छैन । तर, खरीद भएर बाटोमा रहेको मल धान रोपाइँको बेलासम्म आइपुग्ने भएकाले अभाव हुँदैन, यसमा सबै सरोकारवाला ढुक्क हुन सक्नुहुन्छ,’ उनले आर्थिक अभियानसँग भनिन् ।

यता, राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेम दंगालले गोदाममा भएको मल किसानले पाउँछन् भन्ने सुनिश्चितता भए पनि बाटोमा भएको वा खरीद प्रक्रियामा रहेको मल किसानले पाउने निश्चित नभएको बताए । उनका अनुसार बर्खाको समयमा विभिन्न प्रकोपका कारण मल समयमा आइपुगेन भने किसानलाई मार पर्न सक्छ । ‘गोदामसम्म नआएको मल त सहज वातावरण भए मात्र आइपुग्ने होला । किसानले पाउँछन् वा अभाव हुँदैन भन्ने ग्यारेन्टी कसरी गर्ने ?’ उनले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्