बजेटको बखान गर्दै अर्थमन्त्री भने- ‘निजी क्षेत्र र प्रतिपक्षले समेत आशा जगाउने बजेट भनेका छन्’



काठमाडौं,जेठ १७ । अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रालयमा पत्रकारसँग छलफल गर्दै आफूले संसदमा प्रस्तुत गरेको बजेटको बखान गरेका छन् ।

मंगलवार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२को बजेटमा समावेश गरेका कार्यक्रमका बारेमा बोल्दै पुनले बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको बताए । बजेटका बारेमा निजी क्षेत्रको मिश्रित प्रतिक्रिया आइरहेका बेला पुनले निजी क्षेत्रलाई साथमा लिएर जाने कोसिस गरेको बताएका छन् ।

उनले कुनै पनि व्यक्तिगत आग्रह, पूर्वाग्रह, भावनामा बगेर काम गर्दैनौं भन्ने प्रतिबद्धताका साथ करका दरमा हेरफेर भएको स्पष्ट पारे । निजी क्षेत्र, प्रमुख प्रतिपक्षलेसमेत आशा जगाउने बजेट आएको भनेर प्रतिक्रिया दिएको उनको भनाइ छ ।

डिजेल/पेट्रोल गाडीमा असावधानीवश भ्याट छूटको सूचीमा पर्‍यो, सच्याउँदै छौं 

अर्थमन्त्री वर्षमान पुनले मंगलवार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२को बजेटमा डिजेल/पेट्रोलबाट चल्ने सवारीसाधनमा लाग्दै आएको भ्याट असावधानीवश छुटको सूचीमा असावधानीवश भ्याट छूटको सूचीमा परेको भन्दै त्यसलाई सच्याइने बताएका छन् । 

बजेटबारे जानकारी दिन मन्त्रालयमा पत्रकारसँग छलफल गर्दै मन्त्री पुनले चालू वर्षका आर्थिक प्रक्षेपण नमिल्दो आएकाले नयाँ बजेट तथ्यांकपरक बनाउन आफूलाई दबाब परेको समेत बताए । त्यस्तै उनले युवाहरूमा रहेको निराशा हटाउने आशा जगाउने खालको बजेट ल्याइएको दाबी गरे ।

बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको दाबी 

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटले नेपालको वास्तविक अवस्था विश्लेषण गरेर सुधारको बाटो समात्ने गरी बजेट आएको दाबी गरे । 

‘आगामी आवको बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास गरेको छ । हाम्रो भौगोलिक अवस्थिति सुहाउँदो अर्थतन्त्र निर्माणका लागि कोसिस गर्ने र नयाँ चरणको आर्थिक सुधारका लागि सुझाव दिन उच्चस्तरीय कार्यदल गठन गर्ने नीति लिइएको छ,’ अर्थमन्त्री पुनले भने, ‘आर्थिक सुधार सुझाव कार्यदल गठन गर्ने आगामी आर्थिक वर्षको बजेटले उल्लेख गरेको छ ।’     

निजी क्षेत्रलाई साथमा लिएर जाने कासिस गरेका छौं 

निजी क्षेत्रलाई साथमा लिएर जाने कोसिस गरेको भन्दै नागरिकलाई केन्द्रमा राखेर बजेट ल्याएको दाबी पुनले गरे । निजी क्षेत्र, प्रमुख प्रतिपक्षलेसमेत आशा जगाउने बजेट आएको भनेर प्रतिक्रिया दिएको उनको भनाइ छ । ‘आम जनतामा आशा जगाउने गरी बजेट आएको छ । बजेटले उद्यमी व्यवसायी आशा जगाउने अपेक्षा गरेका छौं,’ अर्थमन्त्री पुनले भने, ‘देशभित्र अवसर हुँदाहुँदै पनि देशबाहिर जाने प्रवृति बढेको छ । सजिलै विदेशको बाटो रोज्नेभन्दा पनि मुलुकभित्रै केही काम गर्ने गरी युवामा आशा जगाउने गरी बजेट आएको छ ।’  

छलफलमा उनले विमानस्थलसहित पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अगाडि सारिएको बताए । बजेट नछरिएको, प्राथमिकता निर्धारण गरिएको, सहकारीका समस्या हल गर्नेतर्फ नै बजेट आएको पुनको दाबी छ । रूग्ण उद्योगहरू चलाउन खोजिएको यसले रोजगारी सिर्जना, छिटो पूरा हुन सक्ने आयोजनामा पर्याप्त बजेट राखेको, दुई सिफ्ट गरेर भए पनि आयोजनाहरू समयमै सक्ने गरि बजेट छुट्टयाइएको भन्दै मन्त्री पुनले बजेटको बखान गर्नसमेत भ्याए ।

करका दर परिवर्तनमा आग्रह, पूर्वाग्रह, भावनामा बगेर काम गरेका छैनौं 

करका दर परिवर्तन गर्दा पनि आवश्यकता र औचित्यका आधारमा गरिएको पुनको भनाइ छ । कुनैपनि व्यक्तिगत आग्रह, पूर्वाग्रह, भावनामा बगेर काम गर्दैनौं भन्ने प्रतिबद्धताका साथ करका दरमा हेरफेर भएको स्पष्ट पारे । बजेटका प्राथमिकता र उद्देश्य धेरै छर्नेभन्दा पनि कृषि, ऊर्जा, सूचनाप्रविधिलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर आन्तरिक उत्पादन बढाउने नीति बजेटले अवलम्बन गरेको अर्थमन्त्री पुनले बताए । 

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत अबको १० वर्षमा ३० खर्बको निर्यात पुर्‍याउने महत्वाकांक्षी योजना अघि सारेको र स्वदेशी उद्योग तथा उत्पादनलाई संरक्षण गर्ने नीति लिएको उनको भनाइ छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले नै तयारी र कच्चा पदार्थमा दुई तहको भन्सार लगाउने नीति लिइएको पुनले बताए । हरित करको नयाँ विषय आर्थिक ऐनमा राखेको पनि पुनले बताए । 

प्रतिक्रिया दिनुहोस्