अलैंची र चिया उत्पादकसँग अन्तरक्रिया : व्यापार रणनीतिको खाका प्रस्तुत



विराटनगर,जेठ २४ ।  नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले प्रादेशिक व्यापार रणनीति सम्बन्धमा महासंघका वस्तुगत संघहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाल अलैंंची व्यवसायी महासंघ र चिया उत्पादक संघसँगको सहकार्यमा झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले अलैंंची र चिया व्यापार रणनीतिको खाका प्रस्तुत गरेका थिए ।

कार्यक्रममा महासंघ, कोशी प्रदेशका उपाध्यक्ष कुमारमणि पोखरेलले कोशी प्रदेशका कृषि उपजले नेपालको निर्यातमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै प्रदेशका निर्यातयोग्य कृषि उपज लक्षित रणनीति निर्माणले आर्थिक विकासमा योगदान पुग्ने बताए ।

कार्यक्रमको छलफलमा नेपाल अलैंंची व्यवसायी महासंघका अनिल ढुंगानाले अलैंंची निर्यात समिति र अलैंची अनुसन्धानका लागि सूचना केन्द्रको आवश्यकता औंल्याए । चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले कोशी प्रदेशका प्रमुख निर्यात वस्तु चिया र अलैंची रहेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले यसको प्रवर्द्धनमा पुर्‍याएको योगदानबारे जिज्ञासा राखे । स्वदेशी उद्योगहरू धराशयी बनिरहेको अवस्थामा महासंघले यसलाई जोगाउन सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

चिया व्यवसायी ओमकृष्ण ज्ञवालीले खुला आयात रोक्नुपर्ने भन्दै कृषि व्यापार प्रवर्द्धनको नीति निर्माणमा सरकार कमजोर रहेको बताए । तथ्यमा आधारित नीति रणनीति निर्माणले मात्र कृषि व्यापार प्रवर्द्धन हुने उनको भनाइ छ । चिया व्यवसायी गोपाल दाहालले विश्व बजारमा अग्र्यानिक चियाको राम्रो बजार रहेकाले त्यसको प्रमाणीकरण प्रक्रियामा सरकारले निजीक्षेत्रलाई सघाउनुपर्ने बताए ।

अलैंची व्यवसायी पार्वता खरेलले कृषि व्यापार रणनीतिले किसानका समस्या सम्बोधन गर्नुपर्ने भन्दै वेयरहाउस रिसिप्टको आवश्यकता औंल्याइन् । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका निवर्तमान अध्यक्ष टीकाराज ढकालले महासंघले कृषि व्यापार प्रवर्द्धनका लागि राज्यसँग सहजीकरण गरिरहेको बताए । 

यसैबीच, नेपाल डेरी एसोसिएसन, कोशी प्रदेशसँग झापाको दमकमा भएको अन्तरक्रिया कार्यक्रममा सूर्योदय मिल्कका सञ्चालक मनोजकुमार यादवले उत्पादक, प्रशोधनकर्ता, उपभोक्ताको भूमिकालाई आधार मानेर दुग्ध क्षेत्रको रणनीति बनाइनुपर्ने बताए । नेपाल सरकारले कृषि क्षेत्रमा लगानी गर्ने गरेको, तर अनुगमन नगरेको भन्दै उनले नेपालमा उत्पादन लागत उच्च रहेकाले यसलाई घटाउने उपायको खोजी रणनीतिले गर्नुपर्नेमा जोड दिए ।

नेपाल डेरी एसोसिएसन, कोशी प्रदेशका अध्यक्ष गंगाबहादुर खड्काले दूध र दुग्ध उत्पादनको गुणस्तर विश्वस्तरीय बनाउन पशुपालन क्षेत्रलाई खोरेत रोगमुक्त बनाउनुपर्ने, पशुलाई दिने दानाको गुणस्तर अनुगमन हुनुपर्ने र छुर्पी लगायतको पेटेन्ट अधिकार लिन ढिला गर्न नहुने बताए । कार्यक्रमको खुला छलफलमा उठेका विषयको सम्बोधन पूर्व वाणिज्य सचिव ओझाले गरेका थिए । यस्तै कृषि व्यापार प्रवर्द्धनका लागि महासंघ कोशी प्रदेशले सञ्चालन गरेका कार्यक्रमका बारेमा कार्यकारी निर्देशक राधारमण भण्डारीले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्