२५ ट्यांकर पाम तेल अलपत्र



विराटनगर,जेठ २८ । कच्चा पाम तेल शीर्षकमा मगाइएको १२ लाख ९९ हजार ४९० लिटर पाम तेल अर्धप्रशोधित भएको परीक्षणबाट पत्ता लागेपछि जनकपुरको जानकी रिफाइनरिज प्रालिले आयात गरेको उक्त सामानका २५ ट्यांकर २ महीनादेखि विराटनगर भन्सार परिसरमा अलपत्र छन् । 

सिंगापुरबाट १६ करोड २७ लाख ९६ हजार ६१ रुपैयाँ (१२ लाख १७ हजार ६२२ अमेरिकी डलर) तिरेर आयात गरिएको उक्त तेल प्रशोधित हो कि अप्रशोधित कच्चा हो भन्ने आशंका पैदा भएपछि विराटनगर भन्सार कार्यालयले भन्सार विभागको प्रयोगशालामा नमूना परीक्षणका लागि पठाएको थियो । प्रयोगशालाले तेल अर्धप्रशोधित भएको प्रतिवेदन दिएपछि १५ प्रतिशत भन्सार तिरेर जाँचपास गराउनुपर्नेमा आयातकर्ताले अहिलेसम्म तेल नछुटाएको भन्सार कार्यालय प्रमुख ज्ञानेन्द्रराज ढकालले बताए । कच्चा तेल आयात गर्दा भन्सार महशुल १० प्रतिशत तिर्नुपर्छ । प्रशोधित तेलको भन्सार महशुल १५ प्रतिशत छ । 

जानकी रिफाइनरिज प्रालिका सञ्चालकले उक्त तेल कच्चा रहेको बताउँदै पाटन उच्च अदालतमा भन्सार विभाग र विराटनगर भन्सार कार्यालयविरुद्ध मुद्दा पनि हाले । उक्त मुद्दामा सुनुवाइ गर्दै अदालतले वैशाख २५ गते कच्चा तेल र प्रशोधित तेलको भन्सार महशुल फरक–फरक हुने भन्दै रिटउपर अन्तिम फैसला हुँदा ठहरेबमोजिम हुने गरी तत्कालका लागि कच्चा पदार्थ र प्रशोधित तेलको भन्सार शुल्कबीच फरक पर्ने रकम धरौटीस्वरूप लिएर मालवस्तु जाँचपास गर्नू भनेको छ । 

भन्सार विभागको प्रयोगशालाले गत जेठ १४ मा तयार पारेको परीक्षण प्रतिवेदनमा उक्त तेलको चरित्र कच्चा सोयाबिन तेलको चरित्रसँग सन्निकट देखिएकाले प्राविधिक दृष्टिमा उक्त नमूना अर्धप्रशोधित तेल हुने उल्लेख गरेको छ । 

विराटनगर भन्सार प्रमुख ढकालले अदालतको आदेशअनुसार तत्कालका लागि राजस्व ४ करोड ७ लाख ६२ हजार ३०८ रुपैयाँ र धरौटी ९४ लाख ७७ हजार ६५५ रुपैयाँ लिएर आयात गरिएको सामान छाड्ने तयारी गरे पनि आयातकर्ताले राजस्व र धरौटी बुझाएर सामान नछुटाएको बताए । यसले गर्दा माल लोड भएका २५ ट्यांकर भन्सार परिसरमै छन् । 

विराटनगर भन्सारका अनुसार अदालतको आदेशपछि कार्यालयले राजस्व र धरौटी रकम बुझाएर सामान लैजान जेठ २ गते आयातकर्ता र अदालतलाई लिखित जानकारी गराएको छ ।

जनकपुर रिफाइनरिज प्रालिका सञ्चालक विश्वनाथ साहले विराटनगर भन्सारले अदालतको आदेश पालना नगरेकाले कायम गरिएको राजस्व र धरौटी रकम तिरेर सामान छुटाउन आफू असमर्थ रहेको बताए । भन्सारले अदालतको आदेश पालना नगरी राजस्व र धरौटी कायम गरेको दाबी गर्दै उनले त्यो अदालतको अवहेलना भएको बताए । भन्सार विभागले शुल्क र जरीवाना असुल गर्दा अदालतले भनेभन्दा फरक उपशीर्षक राखेर शुल्क लिँदा आयात गरेको सामान नेपालबाट निर्यात गर्न नसकिने साह बताउँछन् । 
त्यस्तो सामान खाद्य विभागले जफत गर्न सक्ने भन्दै उनले सरकारी कर्मचारीको त्रुटिपूर्ण कार्यले समग्र उद्योग धराशयी हुने अवस्था रहेको बताए । 

चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म युक्रेन, फिलिपिन्स, इन्डोनेशिया, मलेशिया, थाइल्यान्डबाट १० अर्ब २१ करोड ४६ लाख ७७ हजार रुपैयाँ मूल्य बराबरको ८ करोड ७ लाख ६९ हजार ३२१ लिटर कच्चा पाम तेल आयात भएको छ । यसबाट १ अर्ब १६ करोड ७० लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्