राष्ट्रिय सम्मेलनमा क्रान्तिकारी: केन्द्रीय समितिमा प्रखर वक्ता गजुरेलको उम्मेदवारी
काठमाडौं,माघ ११ । अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनको यतिबेला राष्ट्रव्यापी सरगर्मी छ। ३२ वर्षे उमेर हदका कारण विगतको तुलनामा के-कस्ता विद्यार्थी नेताहरू नेतृत्वमा आउँछन् भन्ने सबैको चर्चा र चासो पनि उत्तिकै छ । तर, जे होस् वैचारिक रूपमा प्रखर र भविष्यमा समाजलाई सहि दिशा अनि नेतृत्व दिनसक्ने राजनीतिको सुन्दर सम्भावना बोकेका आशालाग्दा युवाहरु यसपटक अखिल (क्रान्तिकारी)को नेतृत्व तहमा चयन भएर आउने पक्कापक्की जस्तै छ ।
यहि आशा र भरोसालाग्दो नेतृत्वपङ्तिमा निर्वाचनको मैदानमा उभिएका युवा विद्यार्थी हुन्, नुवाकोटका रामचन्द्र गजुरेल (आरसी) । वैचारिक बहसमा प्रखर वक्ता, राजनीतिक तथा सांगठनिक उर्जा र तागत राख्ने क्षमताका धनी उनै गजुरेल भोलि माघ १२ गते हुने निर्वाचनका लागि नुवाकोट जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने तयारीमा छन् । बागमती प्रदेशतर्फबाट केन्द्रीय सचिवालय सदस्यमा उनले उम्मेदवारी दर्ता गराएका छन् ।
२०५६ सालमा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं. ९ (साविक जिलिङ गाविस, नलगाउँ)मा जन्मिएका २४ वर्षिय गजुरेल हाल अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिचन्द्र बहुमुखी क्याम्पसबाट तथ्यांक शास्त्रमा स्नातक तहको अध्ययन पुरा गरेका उनले वैचारिक, राजनीतिक रुपमा सक्षम र कुशलतापूर्वक संगठन हाँक्ने क्षमता राख्छन् ।
आफ्नै पार्टी र संगठनभित्र पनि आलोचनात्मक चेतसहित विचार पस्किन सक्ने तागत राख्ने, फरक विचार भएका परिवर्तन बिरोधी वर्गबैरीहरुसँग तथ्यसहित वैचारिक बहस र प्रतिरोधी क्षमता राख्नसक्ने विद्यार्थी नेता गजुरेलले विद्यार्थी आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउन नविन बहस र संघर्षको थालनी गर्नुपर्ने आवश्यकता ठान्छन् । त्यसका निम्ति दृढ इच्छाशक्ति र विचारसहितको अबको सशक्त क्रान्तिकारी विद्यार्थी आन्दोलनको नेतृत्वले मात्रै बलिदानीपूर्ण साहसिक आन्दोलनमार्फत् नेपाली समाजको इतिहास रचेको माओवादी पार्टी र अखिल क्रान्तिकारीको साहसिक विरासतलाई नयाँ उचाईमा पुर्याउन सक्ने सम्भावना औंल्याउँछन् ।
‘क्रान्तिकारी आन्दोलन र योगदानबाट प्राप्त भएको नेपाली समाजको उपलब्धिमाथी दिनानुदिन प्रयास भइरहेको प्रतिगामी षड्यन्त्र, जालझेल र हर्कतलाई ध्वस्त पार्दै त्यसखाले प्रवृतिका विरुद्ध पनि विचारबाट निर्देशित हामीजस्ता विद्यार्थीहरु नेतृत्वमा आउनुपर्ने समयको माग अनि अपरिहार्यता हो।’
माओवादी आन्दोलनबाट प्राप्त परिवर्तन र भूमण्डलीकृत विश्वव्यापी समाजको यो प्रतिष्पर्धात्मक युगमा विद्यार्थीका जनपक्षीय शिक्षाको अधिकार प्राप्तिको लडाइँका क्रममा विद्यार्थी आन्दोलनमा खडा भएका कैयन् प्रश्नको जवाफ खोज्न र दिन सक्नुपर्ने अभिभारा अहिलेका क्रान्तिकारी विद्यार्थीसामु आइपरेको गजुरेलको बुझाई छ । ‘त्यसको निम्ति, सत्ता, भत्ता र चन्दाबाट सीमान्तकृत हुन पुगेको विद्यार्थी आन्दोलन र संगठनलाई नयाँ उचाईमा पुर्याउन पनि बाग्मती प्रदेश खुल्ला सचिवालय सदस्यको रुपमा मैले उमेरद्वारी दियको छु ।’ यहि एजेण्डालाई लागू गर्नका लागि आफूलाई मतदान गर्न गजुरेलले अपिल गरेका छन् ।

