गोरखाको सुपर माछा खोला जलविद्युत् आयोजनाका लागि राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने
गोरखा,माघ २५ । गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४ दशमलव ६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैङ्कले ऋण लगानी गर्ने भएको छ ।
बिहीबार आयोजित कार्यक्रममा बुढीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
कूल रु ९६ करोड ३८ लाख ३० हजार लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी हुने कम्पनीका प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।
प्रवर्द्धक कम्पनीका अनुसार वाणिज्य बैङ्कले रु ६७ करोड ४६ लाख ८० हजार लगानी गर्नेछ । बाँकी रु २८ करोड ९१ लख ५० हजार स्वपूँजी लगानी हुनेछ । करिब १८ महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाबाट वार्षिक २७ दशमलव ३७९ गिगावट आवर विद्युत् उत्पादन हुनेछ । वर्षायाममा १८ दशमलव ६२१ गिगावट आवर र हिउँदमा ८ दशमलव ७५ गिगावाट आवर बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।
आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच गत असार २१ गते विद्युत् खरिदबिक्री सम्झौता भएको थियो । आयोजनाबाट उत्पादित विद्युत् विकास हाइड्रोपावरमा स्विचिङ गरी धादिङको सल्यानटार सवस्टेसनमा जोडिने छ ।
ऋण लगानी सम्झौता पश्चात कम्पनीका अध्यक्ष न्यौपानेले नेपालको विकासका लागि जलविद्युत् क्षेत्रमा लगानी बढाएर लैजानुपर्ने आवश्यकता बोध गरी आयोजना निर्माण गर्न लागिएको बताए । उनले लगानीकर्ता डुब्न नदिने र समयमै पर्याप्त प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरे ।

