ड्युटीमै रहेका असई को मृत्यु
महोत्तरी,माघ २५ । महोत्तरीको जलेश्वर जिल्ला प्रहरी कार्यालय कन्ट्रोल रुममा ड्युटी गरिरहेका प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र राम चमारको मृत्यु भएको छ । ड्युटीमै रहेका बेला अचानक श्वास लिन समस्या भएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको थियो । पछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिए पनि उहाँलाई चिकित्सकले मृत घोषणा गरे ।
सुगर तथा ब्लडप्रेसर रोगबाट पीडित रहेका असई चमारलाई अचानक श्वास लिन समस्या भएपछि चिकित्सकले सिपिआरसहितको कृत्रिम माध्यमले अक्सिजन पूर्ति गर्ने प्रयास गरे पनि सफल हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयसवारले बताए ।
२३ वर्ष १० महिना आठ दिन प्रहरीमा सेवा गरेका असई चमार सात महिना पहिले सिन्धुपाल्चोकबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा आएका थिए । प्रादेशिक अस्पताल जनकपुरमा मृतक प्रहरीको पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाएको डिएसपी जयसवारले बताए ।

