प्रणय दिवसमा खाना महोत्सवको तयारी
चितवन,माघ २५ । चितवनको पर्यटकीय नगरी सौराहामा दैनिक पाँच हजार पर्यटक भित्र्याउने गरी खाना महोत्सव (फुड फेस्टिभल) को तयारी गरिएको छ ।
माघ २९ देखि सुरु हुने महोत्सवलाई भव्य बनाउन सौराहालाई सिँगारिएको छ । महोत्सवको तयारी गरिएपछि सौराहामा चहलपहलसमेत सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल, सौराहा चितवन (रेबान) सौराहाको आयोजनामा सौराहा फुड फेस्टिभलको १९ औँ संस्करण हुन लागेको हो । सौराहास्थित पर्यटक बसपार्क जाने बाटोको उत्तरतर्फको खाली जग्गामा फागुन ३ सम्म फेस्टिभल सञ्चालन हुने आयोजक रेबान सौराहाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।
चितवनको पर्यटन विकासका लागि प्रणय दिवसका अवसर पारेर फेस्टिभल आयोजना गरिएको रेबान सौराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । फेस्टिभलको प्रभावका कारण सौराहामा पर्यटक आगमनमा ४० प्रतिशत पर्यटक वृद्धि हुने उनले बताए । फेस्टिभलबाट भएको मुनाफा सौराहाको सौन्दर्यीकरणमा लगानी गर्ने आयोजकले जानकारी दिएको छ ।

