मनाङको तिमाङ जङ्गलमा लागेको आगो अझै आएन नियन्त्रणमा



मनाङ,माघ २९ । मनाङको चामे गाउँपालिका–१ तिमाङ नजिकै जङ्गलमा भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सोमबार साँझ भएको हल्का वर्षाले केही मत्थर पारे पनि पूर्णरूपमा नियन्त्रण हुन नसकेको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए ।

यही माघ १८ गते बेलुकीदेखि भएको सो आगो पूर्णरूपमा नियन्त्रणमा आउन नसक्दा आगलागी तथा वन डढेलो नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ पारित गरी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइएको प्रजिअ आचार्यले जानकारी दिए ।

‘‘वन सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ’’, उनले भने, ‘‘आगो पूर्ण नियन्त्रणका लागि अन्नपूर्ण संरक्षण केन्द्र (एक्याप), डिभिजन वन कार्यालय, स्थानीय जनता र सुरक्षाकर्मी निरन्तर परिचालन गरिएको छ ।’’

आगो पूर्णरूपमा नियन्त्रणमा नआएसम्म हरेक दिन बिहानैदेखि सम्पूर्ण निकायबाट सबै संयन्त्र तथा जनशक्ति आगलागी भएको क्षेत्रमा परिचालन गरी पूर्ण नियन्त्रणको प्रयास जारी रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्