हस्तान्तरण नहुँदै सिमिकोट विमानस्थलमा पर्यो प्वाल
हुम्ला,फागुन १ । सिमकोट विमानस्थलको नयाँ निर्माण गरिएको एप्रोन (ट्याक्सी वे) हस्तान्तरण नहुँदै प्वाल परेको छ । एप्रोनका लागि पुरिएको माटोमा राम्रोसँग रोलर नलाउँदा माटो दबिएपछि कालोपत्रे गरेको एप्रोनको भागमा प्वाल परेको हो ।
हवाईजहाज पार्किङ गर्नका लागि नयाँ निर्माण गरिएको एप्रोन हस्तान्तरण नहुँदै भ्वाङ परेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक महेन्द्रबहादुर सिंहले बताए । उनले धेरै अग्लो गरी निर्माण गर्न आवश्यक नरहेको एप्रोनमा माटो भर्ने क्रममा कसिलो किसिमले रोलर मेसिन नलाउँदा अहिले एप्रोनमा प्वाल परेको बताए ।
विमानस्थलभन्दा ३० मिटरमाथि उठाएर उक्त एप्रोन निर्माण गरिएको छ । नयाँ एप्रोन अग्लो गरी निर्माण गरिँदा विमानस्थलका कर्मचारीलाई जहाजले भुइँ छाड्ने अन्तिम क्षेत्र देख्न सकिने अवस्थासमेत छैन । एप्रोनको दक्षिणी किनारमा तीन मिटर लम्बाइ र दुई फिट गहिरो एप्रोनको भाग भासिएको छ ।
उक्त योजना क्याराभान गाल्भा जेभीले निर्माण गरेको हो । २०७४ सालमा एप्रोन निर्माणका लागि आयोजनासँग सम्झौता गरेको थियो । तोकिएको समयमा निर्माण कार्य पूरा नभएपछि पटक पटक म्याद थपिएको थियो ।

