यस्तै हो भने एमालेले २०८४ को निर्वाचनमा कांग्रेसलाई लट्पट्याइदिन्छः शेखर कोइराला

काठमाडौ,फागुन १० । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले सरकारको गलत क्रियाकलाको विरोध गर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । शनिबार प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुसँगको चियापान समारोहलाई सम्बोधन गर्दै उनले भोलि एमालेसँग चुनावमा प्रतिस्पर्धा गर्न पनि सरकारले गरेका गलत कामलाई गलत भन्न सक्नुपर्ने बताएका हुन् । सरकारले गरेका सबै कामलाई समर्थन गर्दै जाने र सबै ठीक छ भन्दै जाने हो भने २०८४ को निर्वाचनमा एमालेले कांग्रेसलाई उठ्नै नसक्नेगरी लट्पट्याइदिने उनले बताए ।
‘हामी सरकारमा छौं, सत्ता पक्ष छौं । एमाले र नेपाली कांग्रेसको सरकार त छ । तर, तपाईँहरुको जिल्लामा प्रतिस्पर्धा को सित छ भन्दाखेरी एमालेसितै छ । त्यसकारण हामीहरुले प्रतिस्पर्धीको रोल खेल्नुपर्ने हुन्छ । सरकारमा भएका मन्त्रीहरुले एमालेसित सहकार्य गर्ने, तपाईँ हामीले चाहीँ प्रतिस्पर्धा गर्ने हो । यो भनेको गलत कुरालाई गलत भन्ने, सही कुरालाई सही भन्ने । किनभने भोलिको चुनाव त हामीले एमालेसँग लड्नु छ नि त । त्यो विचार गर्नुपर्छ । नत्र लट्पट्यादिएर हामीहरु भोलि निस्किन सक्ने अवस्था नहुन सक्छ,’– उनले भने ।
साथै, उनले पार्टीको १५औं महाधिवेशन ०८४ को निर्वाचनपछि गर्ने भन्ने बजारमा हल्ला आइरहेको र आफूलाई त्यो कुरा स्वीकार्य नरहेको बताए । ‘बजारमा जुन हल्ला आइरहेको छ, २०८४ को निर्वाचनपछि मात्रै महाधिवेशन गर्ने भन्ने कुरा आइरहेको छ, त्यो चिन्ताजनक विषय हो, म त मान्नै सक्दिनँ त्यो कुरा,’– उनले भने ।
कांग्रेस र एमालेबीच केन्द्रदेखि स्थानीय तहसम्मै संयन्त्र बनाउने अभ्याससमेत गलत रहेको उनको भनाइ छ । उनले जिल्ला र पालिकास्तरमा बनेका संयन्त्रको हावामा नलाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे । ‘अहिले हावा चलिरहेको छ, यो हावामा तपाईँहरु नलाग्नुस् । आफ्नो काम गर्नुस्,’– नेता कोइरालाले भने ।