नेता राजेन्द्र महतोलाई ताप्लेजुङमा कालो झण्डा

फुङलिङ,फागुन १० । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोलाई कालो झण्डा देखाइएको छ । विकास प्रेमी युवा समाज ताप्लेजुङले फुङलिङ नगरपालिका वडा ६ होटल प्यारिज अगाडि कालो झण्डा देखाइएको हो ।
फागुन ६ गतेदेखि ८ गतेसम्म नो केबलकार समूहले गरेको शान्तिपूर्ण मुक्कुमलुङ पदयात्रामा सहभागी भएको भन्दै कालो झण्डा देखाइएको छ । उनी फागुन ८ गतेका लागि तय गरिएको पदयात्राको अन्तिम दिनलाई सम्बोधन गर्न ताप्लेजुङको पाथिभरा मुक्कुमलुङ क्षेत्र आएका थिए ।
पदयात्रापछि काफ्लेपाटीमा रहेको केबलकारको निर्माणाधीन स्थलमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप भएको थियो । झडपमा प्रहरी, शसस्त्र प्रहरी, आन्दोलनरतपक्ष र सवारी चालक गरी धेरै जना घाइते भएका थिए ।