शिवपुरी र पञ्चकन्यामा रहेकोे वेद विद्याश्रम गुरुकुल त्रिवेणीधामको भवन शिलान्यास

नुवाकोट,फागुन १४ । शिवपुरी र पञ्चकन्या गाउँपालिकाको संगमस्थलमा रहेकोे श्रीकृष्ण तीर्थस्थल तथा वेद विद्याश्रम गुरुकुल त्रिवेणीधामको भवन शिलान्यास गरिएको छ ।
बुधबार एक समारोहका बीच पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ र उपाध्यक्ष विमला केसीले संयुक्तरुपमा भवनको शिलान्यास गरेका हुन् ।
त्रिवेणीधाम सुधार तथा संरक्षण संस्थाका अध्यक्ष अर्जुन गुणीका अनुसार भवन निर्माणका लागि पूर्व पर्यटन तथा उड्डयन मन्त्री हितबहादुर तामाङले कुल २७ लाख बजेट विनियोजन गरेका थिए । प्राप्त बजेटबाट २/२ कोठाको दुई ढलानको भवन आउदो बैशाख मसान्तसम्म निर्माण गर्नेगरी शिलान्यास गरिएको बताइएको छ ।
यसैबीच महाशिवरात्रीको अवसरमा त्रिवेणी धामले कविता प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा सर्वोत्कृष्ट र उत्कृष्ट रचनाकारलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । दुई संस्थागत र सातवटा सामुदायिक विद्यालय सहभागी प्रतियोगितामा सर्वोत्कृष्ट ५ जनालाई नगद १५ सयसहित प्रमाणपत्र र उत्कृष्ट १५ जनालाई रुपैयाँ १ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियोे ।
प्रतियोगीलाई सम्मान गर्दै शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले धर्म, कला र संस्कृतिका महत्त्वका बारेमा चर्चा गरेका थिए ।
नोट: यस अघि केन्द्र सरकारबाट प्राप्त रकम हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्याइएको छ । -सं.