काभ्रेकी निशाको हराएको पाँच महिनामा कङ्काल फेला



काभ्रेपलान्चोक,फागुन १६ । हराएको करिब पाँच महिनापछि काभ्रेपलान्चोक मण्डनदेउपुर नपा–११ को ३८ वर्षीया निशा लामाको कङ्काल पाँचखाल नपा–३ स्थित जङ्गलमा भेटिएको छ । लामाको हत्या अभियोगमा प्रहरीले बिहीबार  धुलिखेल नपा–६ का ३६ वर्षीय सुनिल रञ्जितकारलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । लामा गत असोज १५ गतेदेखि हराएकी थिइन ।

सोही दिन लामा औषधि खरिदका लागि घरबाट तामाघाट जान्छु भनेर हिँडेको र घर नफर्केपछि उनका श्रीमान राइफल लामाले प्रहरीमा खोजविनका लागि निवेदन दिएका थिए । निशाको कङ्काल बुधबार दिउँसो २ बजे पाँचखालको काफ्लेडिही नजिकको जङ्गलमा फेलापरेको थियो ।

निशाको कङ्कालसँगै ब्याग, चप्पल र व्यागभित्र निशा लामा लेखिएको बिल फेला परेका कारण उक्त कङ्काल श्रीमती निशाकै भएको भनी लामाले सनाखत गरेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार निशाका श्रीमान् लामाले रन्जितकार विरुद्ध बिहीबार जाहेरीसमेत दर्ता गरेका छन् ।

प्रहरीका अनुसार जाहेरीमा पक्राउ परेका सुनिल रञ्जितकारले निशालाई काभ्रेपलाञ्चोककै बनेपामा भेटी ललाइफकाइ गरी झुक्याएर काफ्लेडिहीको जङ्गलमा लगेको र हत्या गरेको आरोप छ । रञ्जितकारले भने निशाले आफूलाई ‘जबरजस्तीकरणीको अभियोग’ मा फसाइदिन्छु भनेकाले आवेशमा आएर धारिलो हतियार र ढुङ्गाले टाउको तथा संवेदनशिल अङ्गमा प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ । निशाका दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्