अस्थिरता चाहनेले सरकारको आयुबारे हल्ला चलाए : महासचिव पोखरेल



काठमाडौ,फागुन १७ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको अस्थिरतामा रम्न चाहनेले सरकारको आयुबारे हल्ला चलाउने गरेको बताएका छन् । 

नेपाल राष्ट्रिय होटल व्यवसायी सङ्घको प्रथम अधिवेशन आज उद्घाटन गर्दै उनले सरकारको आयु कहिले होला भन्ने भनेर हल्ला चलाउनेहरू मुलुकमा अस्थिरतामा रम्न चाहनेहरूको सपना मात्र रहेको बताए । 

“कहिलेकाहीँ यो सरकारको आयु कहिले होला भनेर हल्ला चलाउने गरिन्छ । एक–एक महिनामा एउटा–एउटा हल्ला चलाउने गरिन्छ, अब सरकारको आयु सकियो भन्ने कुरा गरिन्छ”, उनले भने, “त्यो हल्ला नेपालमा अस्थिरतामा रम्न चाहनेको सपना मात्र हो । त्यो हल्लाले अहिलेको सरकारलाई कुनै प्रकारको प्रभाव पार्दैन ।”

महासचिव पोखरेलले सरकारले निश्चित उद्देश्य रहेको उल्लेख गर्दै आगामी निर्वाचनसम्म एमाले र नेपाली कांग्रेसबीचको सहकार्य निरन्तर रहने बताए । अहिलेको दुई पार्टीको सहकार्य अस्थिरता समाप्त गर्ने रहेको भन्दै उनले राजनीतिक धुव्रीकरणका माध्यमबाट मुलुकमा स्थायी सरकारको निर्माण सुनिश्चित गर्नुपर्ने मान्यताको पक्षमा दुई पार्टी रहेको बताए ।

भविष्यमा जनताले मन पराएको पार्टी सरकारमा र अर्को ठूलो पार्टी प्रमुख प्रतिपक्षमा जानुपर्ने उनको भनाइ छ । उहाँले अहिले ल्याउन थालिएका छवटा अध्यादेश मुलुकको व्यावसायिक वातावरण, सुशासन कायम गर्ने कुरामा केन्द्रित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्