वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका नुवाकोटका आठ परिवारलाई नगद रकम राहत

• सुनिल श्रेष्ठ
नुवाकोट,फागुन २७ । नुवाकोटमा वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई वैदेशिक रोजगार बोर्डबाट ५१ लाख ५० हजार रुपैँया राहत उपलब्ध गराएको छ ।
सुरक्षित आप्रवासन (सामी)को चौथो चरणको कार्यक्रम सञ्चालनका सम्बन्धमा परिचयात्मक कार्यक्रम तथा अन्तर स्थानीय सरकार समन्वय बैठकमा सार्वजनिक गरिएको तथ्यांकअनुसार चालु आव २०८१/०८२ को माघ महिनासम्ममा मृत्यु भएका ८ जनाका परिवारलाई राहत उपलब्ध गराएको छ ।
यसैगरी सामी कार्यक्रममार्फत् श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गई तोकिएको अवधिभित्र अङ्गभङ्ग वा बिरामी भई कल्याणकारी कोषबाट वैदेशिक रोजगारी बोर्डमार्फत् ६ जनालाई १५ लाख ७५ हजार रुपैँया बराबरको आर्थिक सहायता उपलब्ध गराएको छ । नुवाकोटमा अझै वैदेशिक रोजगारको क्रममा मानवीय क्षति हुदाँ प्राप्त हुने क्षतिपूर्ति बारे अनविज्ञ रहेको आप्रवासी स्रोत केन्द्र (सामी)ले जनाएको छ ।
माघ महिनासम्ममा नुवाकोटका छ हजार ७११ जना युवाहरूले वैदेशिक रोजगारको लागि श्रम स्वीकृत लिएका छन् । जसमा महिला एक हजार ७१७ र पुरुष चार हजार ९९४ जना रहेका छन् । गत आव २०८०/०८१ मा कुल १० हजार ६५४ जना युवाहरुले श्रम स्वीकृत लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट चालुआर्थिक वर्ष २०८१/०८२ को माघ महिनासम्मको अवधिमा पाँच हजार ८८८ जनाले राहदानी लिएका छन् ।
सामीले जिल्लाका छ स्थानीय तहमा सामीले गत २०७६ फागुनदेखि चालुआवको पुस महिनासम्म २६ हजार ७६२ जनालाई वैदेशिक रोजगार सम्बन्धि सूचना तथा परामर्श सेवा प्रदान गरेका थिए । यसैगरी वैदेशिक रोजगारीबाट फर्केका ३४ हजार ८६९ जनालाई सेवा दिएका थिए । यसैगरी, नि:शुल्क कानुनी सेवामा २३८ जना, मनोसामाजिक परामर्शमा ३९० जना, बित्तिय साक्षरता ५५ वटा समूहका एक हजार ४१४ जनाले सेवा लिएका छन् ।
वैदेशिक रोजगार सम्बन्धि सहजीकरणको लागि विदुर र बेलकोटगढी नगरपालिका, लिखु, शिवपुरी, पञ्चकन्या र तारकेश्वर गाउँपालिकामा ५५ लाख बजेट विनियोजन गरिएको छ ।
समस्या समाधानका लागि छ वटै स्थानीय तहले सीप तालिम र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । सामी कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षाहरू सञ्चालन भइरहेका छन् ।
सामीले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नौ जनाको शव ल्याउन सहजीकरण गरेका छन् । विदेशमा अलपत्र, बेपत्ता, बन्धक, जेललगायतबाट १२१ जनालाई उद्धार गरिएको छ। अङ्गभङ्ग वा बिरामी भएका ३४ जनालाई सहजीकरण गरिएको छ ।
मेडिकल फेल भएको उजुरीको आधारमा १० जनाको दुई लाख ६९ हजार रुपैँया असुली गरिएको छ । यस्तै, वैदेशिक रोजगारीमा गई तोकिएको अवधिमा अङ्गभङ्ग, वा बिरामी भई कल्याणकारी बोर्डबाट वैदेशिक रोजगार बोर्डको सचिवालयमार्फत आर्थिक सहायता प्राप्त गरेका कामदारका ८० जना सन्ततिहरुलाई सात लाख ७२ हजार रुपैँया छात्रवृत्ति उपलब्ध गराएको छ।