शिक्षक महासङ्घका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई भेटे

काठमाण्डाै,वैशाख ६ । प्रधानमन्त्री केपी ओली र नेपाल शिक्षक महासंघका पदाधिकारी बिच शुक्रबार राती ९ बजे भेटघाट भएको छ । भेटघाटका क्रममा शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री ओली र नेपाल शिक्षक महासंघका पदाधिकारी बिच करीब २ घण्टा संवाद भएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए। छलफलमा महासंघका अध्यक्ष सुवेदीसहित सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव अर्थ मदनराज जोशी सहभागी थिए ।
महासंघका तर्फबाट चालु आन्दोलन, शिक्षक कर्मचारीका मागमुद्दा र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा आफ्ना धारणा स्पष्ट पार्ने कार्य भएको र प्रधानमन्त्रीले सरकारले सम्बोधन गर्न सक्ने कुरा बारेमा सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्ने बारेमा तदारुपता दिने कुरा व्यक्त गरेको महासंघ अध्यक्ष सुवेदीले जानकारी दिए ।
त्यसैगरी शुक्रबार राती ११ः३० बजे महासंघ प्रतिनिधि मण्डलले सभामुख देवराज घिमिरेसँग पनि भेटघाट गरेको छ । सभामुखसँग शिक्षा विधेयक छिटो जारी गर्ने विधि र उपायका बारेमा छलफल भएको महासंघ अध्यक्ष सुवेदीले सामाजिक सञ्जाल मार्फत जानकारी गराए ।
यसैबीच महासंघका अध्यक्ष सुवेदीले सरकारसंग वार्ता र संवाद भएपनि शिक्षक–कर्मचारीका मागमुद्दा र विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन निरन्तर हुने बताए । उनले भने- ‘हाम्रो आन्दोलन जारी रहेको कुरा सबै शिक्षक कर्मचारी साथीहरुमा अनुरोध छ । उत्साहका साथ आफ्नो सहभागिता जनाउनु होला।’