शिक्षक आन्दोलनप्रति ऐक्यबद्धतासहित सहयोगको आग्रह

नुवाकोट, बैशाख ८ – पुरानो विद्यालय शिक्षा ऐनको विरोधमा नेपाल शिक्षक महासंघको नेतृत्वमा देशव्यापी रुपमा सुरु गरिएको शिक्षक आन्दोलनलाई समर्थन गर्दै पञ्चकन्या गाउँपालिकाले ऐक्यबद्धता जनाएको छ ।
पुरानो शिक्षा ऐन र त्यसपछि भएका संशोधनको प्रयासले मात्र शिक्षकको अधिकार र स्वायत्ततामा आघात पुगेको भन्दै आन्दोलन चर्किएको हो। यही सन्दर्भमा नेपाल शिक्षक महासंघले २०८१ बैशाख २० गतेबाट आम शिक्षण-प्रशिक्षण कार्यक्रम, विद्यालय पठनपाठन, परीक्षा कार्य, विद्यालय निर्माण लगायतका गतिविधिहरु बहिस्कार गर्दै आन्दोलनमा रहेको छ।
पञ्चकन्या गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शिक्षकले आफ्ना पेशागत अधिकार, सामाजिक सुरक्षाको प्रत्याभूति र शैक्षिक स्वतन्त्रता सुनिश्चित गर्न आवाज उठाउनु अहिलेको आवश्यकता हो।” पालिकाले सबै स्थानीय तह, शिक्षक, अभिभावक तथा सरोकारवाला पक्षलाई आन्दोलनप्रति सहानुभूति प्रकट गर्दै ऐक्यबद्धता जनाएको छ।
गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षक आन्दोलनलाई दीर्घकालीन समाधानतर्फ लैजान पठनपाठनलाई नियमितता तर्फ केन्द्रीकृत गर्ने वातावरण बनाउनका लागि संघीय सरकारसँग संवाद गर्न पनि आग्रह गरिएको छ।
