शिक्षकका माग सम्बोधन गर्ने सरकारको तयारी



काठमाडौं,वैशाख ८ । सरकारले आन्दोलनरत शिक्षकहरूले उठाएका माग सम्बोधन गर्ने तयारी थालेको छ । शिक्षकहरूले पूर्वसर्तका रूपमा अघि सारेका माग एवं यसअघि सरकारसँग भएको सहमति अनुसार शिक्षकको ग्रेड मिलान, सञ्चिति बिदा, निवृत्तिभरण, मर्यादाक्रम, पद समायोजन जस्ता विषयहरु क्याबिनेटमा लैजाने तयारी गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

यसका साथै प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक चयन गर्ने, शिक्षक काउन्सिल, बालविकास केन्द्र, राहत तथा अस्थायी लगायतका शिक्षकको स्थायित्वका विषय पनि मन्त्रिपरिषद्‌मा लैजाने तयारी छ । एक हप्ताअघि नै शिक्षामन्त्रीसँगको छलफलको क्रममा महासंघले बुझाएको २४ बुँदामध्ये सरकारले ७ वटा बुँदा मन्त्रिपरिषद्‌मा लैजान तयारी गरेको हो ।

विगत २० दिनदेखि शिक्षकहरू काठमाडौंमा आन्दोलन गरिरहेका छन् । यसबीचमा प्रधानमन्त्री एवं सभामुखसँग भेटवार्ता भए पनि शिक्षक महासंघले भने सरकारसँग भएको सहमति अनुसार शिक्षकको पेशागत हकहित सुनिश्चित हुने गरी शिक्षा ऐन ल्याउने ग्यारेन्टी नभएसम्म आन्दोलन जारी रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्