नुवाकोट पञ्चकन्याका नेगी कान्छा बेपत्ता

नुवाकोट, वैशाख ९ – नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ निवासी बुद्धिबहादुर तामाङ गत चैत २० गतेदेखि बेपत्ता भएका छन्। गाउँमा ‘नेगि कान्छा’ भनेर चिनिने ६० वर्षीय तामाङ गाउँघरमै ज्यालादारीको रुपमा काम गर्दथे ।
उनका छोरा विश्वास नेगीका अनुसार समय समयमा घर आउजाउ गरिरहने बुबा बुद्धिबहादुर धेरै दिनमा घर नफर्किएपछि खोजी थालिएको हो। स्थानीयवासी र आफन्तले आसपासका जंगल र बस्ती क्षेत्रमा खोजी जारी राखेका छन् तर हालसम्म उनको कुनै अत्तोपत्तो लागेको छैन।
“कुनै नयाँ ठाउँमा काम गर्न गए की भनेर तत्काल खोजी गरिएन,” बेपत्ता तामाङका छोराले भने, “तर महिना बितिसक्दा पनि उनी फर्किएनन। हामी निकै चिन्तित छौँ।”
घटनाबारे स्थानीय प्रहरी चौकीलाई जानकारी दिइसकेको परिवारले जनाएको छ। प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य अझ तीव्र बनाइएको छ।
बुद्धिबहादुर तामाङ सामान्य स्वभावका व्यक्ति भएको र हालसम्म स्वास्थ्य सम्बन्धी गम्भीर समस्या नदेखिएको आफन्त बताउँछन्।
उनको कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न परिवारले सबैमा अनुरोध गरेको छ। परिवारजनको सम्पर्क नम्बर ९८६०८२०१६४ रहेको छ ।