जम्मू-कश्मीर आक्रमण अपडेटः एक नेपालीसहित २८ जनाको मृत्यु

काठमाडौै,वैशाख १० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू-कश्मीरको पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणको घटनापछि आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्याएर स्वदेश फर्कदै छन् ।
यो आक्रमण बैसरान भन्ने स्थानमा भएको हो, जहाँ आतंककारीहरूले पर्यटक, स्थानिय बासिन्दा र व्यवसायिक गतिविधिमा संलग्न नागरिकहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।
घटनामा कम्तीमा २८ जनाले ज्यान गुमाएका छन्, जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानिय नागरिक र दुई जना विदेशी नागरिक (एक नेपाली र एक युएईका नागरिक) रहेका छन् । थप ३६ जना घाइते भएका छन्।
यस आतङ्कवादी हमलाको जिम्मेवारी लश्कर-ए-तैयबा नामक पाकिस्तानस्थित आतङ्कवादी समूहको छायाँ संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ ले लिएको छ।
प्रधानमन्त्री मोदीले घटनाको गहिरो निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै, दोषीहरूलाई कारबाहीको दायरामा ल्याइने र आतंकवादविरुद्ध सरकारको अडान अझ कडा हुने स्पष्ट सन्देश दिएका छन् ।
यस घटनापछि गृहमन्त्री अमित शाहले सुरक्षा स्थिति मूल्याङ्कन गर्न श्रीनगर पुगेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मू-कश्मीरको पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणप्रति गहिरो दुःख प्रकट गरेका छन् । सो आक्रमणमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा कुराकानी गर्ने तयारी गरिरहेको ह्वाइट हाउसको प्रेस सचिव क्यारोलिन लेभिटले जानकारी दिए ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा लेभिटले भने, “पाहलगामको लोकप्रिय पर्यटक स्थलमा भएको आक्रमणबारे राष्ट्रपति ट्रम्पलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमार्फत जानकारी गराइएको छ ।
प्रारम्भिक जानकारीअनुसार घटनामा दर्जनौं व्यक्तिको मृत्यु भएको छ र धेरै जना घाइते भएका छन्। राष्ट्रपति ट्रम्प यथासिघ्र प्रधानमन्त्री मोदीसँग वार्ता गर्ने छन् र भारतको यस कठिन घडीमा अमेरिकाको पूर्ण समर्थन व्यक्त गर्ने छन् ।”
राष्ट्रपति ट्रम्पले आफ्नो आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशल मा समेत प्रतिक्रिया जनाउँदै लेखेका छन् , “कश्मीरबाट प्राप्त भएको यो अत्यन्त पीडादायी समाचारले गहिरो पीडा पुर्याएको छ ।
अमेरिकाले आतंकवादविरुद्धको संघर्षमा भारतसँग दृढता पूर्वक साथ दिनेछ । हामी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।”