निजी मेडिकल कलेजका आवासीय चिकित्सकले सरकारी सरह निर्वाह भत्ता पाउने

काठमाडौं,वैशाख १५ । निजी मेडिकल कलेजहरु आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिन तयार भएका छन् ।
चिकित्सा शिक्षा आयोगको १६ औँ वैठकले निजी मेडिकल कलेजहरुले पनि सरकारी सरह आवासीय चिकित्सकलाई ४८ हजार ७३७ रुपैँया दिने निर्णय गरेको थियो । तर सो निर्णयको मेडिकल कलेजहरुले विरोध गरेका थिए ।
आज १९ औँ बैठकमा भने निजी मेडिकल कलेलहरु आवासीय चिकित्सकलाई ४८ हजार ७३७ रुपैँया दिन तयार भएका हुन् । निजी मेडिकल कलेजहरुको संगठन एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले आफूहरु सरकारी सरह निर्वाह भत्ता दिन तयार रहेको जानकारी गराए । उनले भने,“हामी आवासीय चिकित्सकलाई सरकारले तोकेको ४८ हजार ७३७ रुपैँया दिन तयार छौ ।”