शिवपुरी गाउँपालिकाद्वारा नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न



नुवाकोट, वैशाख २९ । शिवपुरी गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत यही वैशाख २६ र २७ गते दुई दिने नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शिवपुरी गाउँपालिका वडा नं. ७ स्थित वडा कार्यालय र वडा नं. १ को श्री शिवालय आधारभूत विद्यालय परिसरमा आयोजित शिविरमा स्थानीय पशुपालक कृषकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

शिविरमा पशु स्वास्थ्य जाँच, गोबर परीक्षण, प्रयोगशालाबाट जाँच सेवा तथा आवश्यक औषधि वितरण गरिएको थियो। पशु स्वास्थ्य विज्ञहरूको उपस्थितिमा कृषकहरूले आफ्ना पशुहरूको स्वास्थ्य परीक्षण गराएका थिए। कार्यक्रममा सहभागिता जनाएका कृषकहरूले सेवा पाएकोमा खुशी व्यक्त गर्दै शिवपुरी गाउँपालिकालाई विशेष धन्यवाद दिएका छन्।

शिवपुरी गाउँपालिकाले आगामी दिनहरूमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्