सांस्कृतिक पर्वले नेपाली नेपाली बिचको एकतालाई बलियो बनाउँछ : मुख्यमन्त्री



मकवानपुर,वैशाख २९ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले सांस्कृतिक पर्वले प्रदेशको मात्र नभई सिङ्गो देशको सांस्कृतिक विविधतालाई कायम राख्दै नेपाली नेपाली बिचको एकतालाई थप बलियो बनाउने बताएका छन् ।

बुद्ध जयन्ती र उभौली पर्वको अवसरमा सोमबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री लामाले यस्तो बताएका हुन्  ।

बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव एवम् विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६९ औं बुद्ध जयन्ती साथै वैशाख पूर्णिमाकै दिन किराँत समुदायको महान् पर्व उभौलीको पर्वको अवसरमा मुख्यमन्त्री लामाले बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसा प्रेमी सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको देश हो । अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान हुन् । यहाँका प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक परम्पराहरू छन् भन्दै उनले यस्ता सांस्कृतिक पर्वले प्रदेशको मात्र नभई सिङ्गो देशको सांस्कृतिक विविधतालाई कायम राख्दै नेपाली नेपाली बिचको एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको भन्दै मुख्यमन्त्री लामाले शुभकामना सन्देशमा शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने उल्लेख गरेका छन् ।

उभौली पर्व वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरू हुने भएकाले प्रकृति पूजक किराँत समुदायले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बालीको पूजाका साथमा विभिन्न परम्परागत नृत्य गर्दै र मिष्ठान्न परिकार खाएर आपसमा सुख, शान्ति, सुस्वास्थ्यको आदानप्रदान गरी रमाइलोसँग यो पर्व मनाउने परम्परा रहिआएको शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्