चोरमाराको पुल भाँचियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध



नवलपुर,वैशाख २९ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारामा रहेको गिरुवारी खोलाको पुल भाँचिएको छ । पुल भाँचिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालका अनुसार पुल केही भासिएकाले मर्मत नगरी यो पुलबाट गाडी चलाउन सक्ने अवस्था छैन । डाईभर्सनको प्रयास भइरहेको उनले बताए । सडक विभागलाई आफूहरुले खबर गरेकाले त्यहाँबाट प्राविधिक नआउँदासम्म सडक सञ्चालन गर्न सकिने अवस्था नभएको उनको भनाइ छ ।

पुल भाँचिएको ठाउँमा तत्काल डाईभर्सन गर्ने ठाउँ नभएको र नयाँ पुल पनि नबनेकाले लामो समय यातायात अवरुद्ध हुनसक्ने देखिएको छ । स्थानीयका अनुसार ओभरलोड ट्रक पुलको बिचमा अड्किएको छ ।

झन्डै तीन वर्षअघि पनि सोही पुलमा प्वाल परेको थियो। हाल पुनः समस्या देखिएपछि यात्रुहरू अलपत्र परेका छन् । सवारी साधनलाई आवागमनमा थप समस्या भएको छ। पुल कमजोर बन्दै गएपछि जोखिम कम गर्न डाईभर्सनमार्फत यातायातलाई एकतर्फी बनाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका पमुख, प्रहरी निरीक्षक जनक बन्जराले बताए ।

प्रहरीले यात्रु र चालकलाई सजग रहन आग्रह गरेको छ। पुल पूर्ण रूपमा बन्द भएपछि अन्य कुनै वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । स्थानीयले पुलको तत्काल मर्मत आवश्यक रहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासस्थित बिनयी खोलाको पुल पनि भाँचिएको थियो । पुल भाँचिएपछि बनाइएको डाईभर्सन पनि दुई पटकसम्म खोलाले बगाउँदा यातायात आवागमनमा समस्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्