लिखुका शिक्षकलाई इमिस तथा कार्यसम्पादन तालिम



नुवाकोट,वैशाख २९ – लिखु गाउँपालिकाको आयोजनामा विद्यालयका आइटी शिक्षक तथा प्रधानाध्यापकहरूलाई लक्षित गरी इमिस (IEMIS) प्रणाली र कार्यसम्पादन मूल्यांकनसम्बन्धी दुई दिने अभिमुखीकरण तालिम शुरु  भएको छ।

तालिम यही वैशाख २९ र ३० गते क्षेत्रपाल माध्यमिक विद्यालय, लिखु-४ मा आयोजना गरिएको हो । बिहान ७ बजे शुरू भई बेलुकी ४:३० बजेसम्म सञ्चालन भएको तालिममा गाउँपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट (IEMIS focal) शिक्षक वा प्रधानाध्यापकहरूको सक्रिय सहभागिता रहेको छ ।

उक्त तालिममा विद्यालय व्यवस्थापनमा प्रविधिको प्रभावकारी उपयोग, IEMIS प्रणालीमा तथ्यांक अद्यावधिक गर्ने तरिका, कार्यसम्पादन मूल्यांकनका मुख्य मापदण्डहरू लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। सहभागीहरूले आफ्नै ल्यापटपसहित तालिममा सहभागी भई व्यावहारिक अभ्याससमेत गरेका थिए।

तालिम समापन समारोहमा बोल्दै लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले विद्यालयको व्यवस्थापन र पारदर्शिताका लागि IEMIS प्रणालीको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सिकाइएका सीपहरू विद्यालयस्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेका थिए।

लिखु गाउँपालिकाका शिक्षा शाखा प्रमुख शेरसिंह रावतले आगामी दिनमा समेत प्रविधि र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन । तालीममा प्रशिक्षक हरिप्रसाद सुवेदीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्