मकवानपुरमा बोरिङ सिचाइको उद्घाटन



मकवानपुर,जेठ १ । मकवानपुरको बकैया गाउँपालिका –७ मा हर्दा खहरे बोरिङ सिचाइको उद्घाटन गरिएको छ ।

बागमती प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको बोरिङको नेपाली काँग्रेसकी सह–महामन्त्री एवम् पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डिना र बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाई मन्त्री श्याम बहादुर खड्काले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । कुल ३६ लाख लागतमा सम्पन्न आयोजनाबाट १५ बिगाहा क्षेत्रफल जमिनमा सिचाई सुविधा उपलब्ध हुने बताइएको छ । उद्घाटन समारोहमा  बोल्दै सह–महामन्त्री उपाध्यायले जल र मलको संयोजन मिलाउन सके कृषि उत्पादनमा उल्लेख्य वृद्धि गर्न सकिने विश्वास व्यक्त गरिन । उनले रासायनिक मलको कारण माटोको उर्वराशक्ति हास हुँदै गएकोमा चिन्ता व्यक्त गर्दैै रासायनिक मलको विकल्प खोज्नुपर्ने आवश्यकता औँल्याइन । नेतृ उपाध्यायले अब जैविक मलको प्रयोग बढाउनुपर्नेमा जोड दिइन । स्थानीय सरकारले पनि जैविक मेलामा अनुदानको व्यवस्था गर्नुपर्ने उनले धारणा राखिन ।आगामी आर्थिक वर्षका लागि नेपाल सरकारले जैविक मल प्रोत्साहनका लागि ८ अर्ब रुपैयाँ अनुदान विनियोजन गर्न लागेको उनले जानकारी दिइन ।

कार्यक्रममा बोल्दै प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाई मन्त्री खड्काले नेपालमै रोजगारीको वातावरण बनाउन कृषि क्षेत्रको उत्पादकत्व बढाउनुपर्ने धारणा राखे । बागमती प्रदेशमा रहेका उर्वर जमिनमा मल, जल, बीउ र सिँचाईको उचित प्रबन्ध गरेर यही रोजगारी सिर्जना गर्न सकिने उहाँले बताए । उनले तीन तहको सरकारबिच समन्वय गरी विकास निर्माणका कार्यहरू अघि बढाउनु आवश्यक रहेकोमा जोड दिए । मन्त्री खड्काले बेतेनीदेखि रक्सिराङसम्मको क्षेत्रमा अझै पनि खानेपानीको चरम  अभाव रहेको बताउँदै निर्वाचित जनप्रतिनिधिहरूले दल भन्दा माथि उठेर जनताका लागि काम गर्नुपर्ने बताए  मन्त्री खड्काले अब ग्राउन्ड रिचार्ज प्रणालीको आवश्यकता रहेको पनि औँल्याए ।

यो सिचाई आयोजनाले १० हर्सपावर क्षमताको पम्पमार्फत ८ लिटर प्रति सेकेन्ड पानी प्रवाह गर्न सक्ने क्षमता राख्ने भूमिगत सिँचाई आयोजना प्रमुख केशव जैशीले बताए ।

बन्जर जमिनमा सिँचाई सुविधा पुगेपछि हर्दा खहरे टोलका किसानहरू खुसी भएका छन् । आकाशे पानीको भरमा वर्षको एक बाली मात्रै खेती गर्दै आएका किसानहरू वर्षभरि खेती गर्न पाउने भएपछि उत्साहित बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्