डिजिटल फेमवर्कको उद्देश्य पुरा गर्न डिजिटल साक्षरता अनिवार्य: मन्त्री गुरुङ

काठमाडौं,जेठ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल फेमवर्कको उद्देश्य पुरा गर्न डिजिटल साक्षरता अनिवार्य हुनुपर्ने बताएका छन् ।
क्यान फेडरेसनले आयोजना गरेको “मल्टी(स्टेकहोल्डर डिस्कसन अन डिजिटल नेपाल फ्रेमवर्क २.० (डिएनएफ २.०) एन्ड वे फर्वाड” शीर्षक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नागरिक एप आयो तर के आयो आयो जस्तो भएको बताउँदै उनले नागरिकले एप प्रयोग गर्ने साक्षरतामा कमी देखिएको औँल्याए । ‘डिजिटल फेमवर्क साकार पार्न डिजिटल लिटरेसी आवश्यक छ”, गुरुङले भने, ‘हामीले साक्षरता पनि सँगै लैजानुपर्छ ।”
त्यस्तै उनले डिजिटल इन्फ्रास्ट्रक्चर निर्माण र आवश्यक नीति बनाउने मुख्य दायित्व समेत सरकारको रहेको प्रष्ट पारे । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङका अनुसार डिजिटल नेपाल फ्रेमवर्क, २०७६ मा ८ वटा प्रमुख क्षेत्रहरूको ८० वटा डिजिटल पहलहरूको पहिचान भएको र कार्यक्रम कार्यान्वयन कार्ययोजनामा प्रत्येक पहलसँग सम्बन्धित सरोकारवालाहरूको पहिचान र समयावधि तोकिएको थियो ।
डिजिटल नेपाल फ्रेमवर्क २.० सोह्रौँ योजनासँग समेत अनुकलन हुने गरी तयार गरिएको र यसले डिजिटल आधार स्तम्भलाई जोड दिई कनेक्टिभिटी, प्राविधिक सीप, डाटा एकीकरण र साइबर सुरक्षा जस्ता आधारभूत पक्षहरूलाई सुदृढ बनाउने लक्ष्य लिएको मन्त्री गुरुङले खुलाए । डिजिटल नेपाल फ्रेमवर्क, २०७६ ले कनेक्टिभिटी लगायतका डिजिटल फाउन्डेसनमा सुधार, क्षमता अभिवृद्धि, डिजिटल पहल मार्फत आर्थिक सामाजिक रूपान्तरणमा जोड दिएको थियो भने डिजिटल नेपाल फ्रेमवर्क २.० ले उक्त फ्रेमवर्क कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौतीहरूको सम्बोधन गर्ने गरी रूपरेखा प्रस्ताव गरेको उनले जानकारी दिए ।
सञ्चार सचिव राधिका अर्यालले सरकारको पहिलो डिजिटल फ्रेमवर्कको विगतको अनुभवले सुधार गर्दै डिजिटल फेमवर्क २.० मसौदा तयार पारिएको बताए । निजी क्षेत्रलाई आवश्यक सुझाव दिन पनि उनले आग्रह गरे ।
क्यान फेडरेसनका अध्यक्ष सुनैना घिमिरे पाण्डेले अब डिजिटल युग भएकाले सरकारले यस क्षेत्रलाई नीतिगतसँगै आर्थिक लगानीको प्राथमिकतामा जोड दिनुपर्ने बताए ।