हावाहुरीले ढलेको रुखले च्यापेर दुई जनाको मृत्यु, तीन गम्भीर घाइते



पश्चिम् नवलपरासी,जेठ २ । पश्चिम नवलपरासीको सुनवलमा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।

आज अपराह्न हावाहुरीसहित पानी परेपछि सुनवल नगरपालिका वडा–७ चारपालामा रहेको प्रतिक्षालयमा बसिरहेका स्थानीयलाई रूख ढलेर च्यापेको हो । 

घटनामा सुनवल–७ कि ३० वर्षीय मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए । घटनामा सोही स्थानका ४० वर्षीय नरमती परियार, ५१ वर्षीय दुर्गेश्वरा खाम्चा र २२ वर्षीय अनिल थापा घाइते भएका छन् ।

उनीहरूको देवदह मेडिकल कलेज रूपन्देहीमा उपचार भइरहेको छ । पानी परेपछि प्रतिक्षालयमा बसिरहेको स्थानीयलाई हावाहुरीले ढलेको रुखले च्यापेको थियो । रूख प्रतीक्षालयमाथि ढलेपछि प्रतिक्षालय भत्किएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्