रुस र युक्रेन युद्ध सुरु भएयता पहिलोपटक प्रत्यक्ष वार्तामा



काठमाडौं,जेठ ३ । रुस र युक्रेनबीच युद्ध चलेको तीन वर्षभन्दा लामो समयपछि दुई मुलुकबीच हिजो पहिलोपटक प्रत्यक्ष वार्ता भएको छ ।

सन् १९४५ मा भएको दोस्रो विश्वयुद्धपछि युरोपकै सबैभन्दा भीषण युद्ध अन्त्य गर्ने महत्वपूर्ण कदमका रुपमा हिजोको वार्तालाई हेरिएको छ ।

टर्कीको इस्तानबुलमा रुसी र युक्रेनी वार्ता टोलीले गरेको वार्तामा कुनै ठोस उपलब्धि भने हासिल हुन सकेको छैन । तर पनि यसलाई युद्ध अन्त्यको महत्वपूर्ण पहलका रुपमा भने विश्वभर नै हेरिएको छ ।

टर्की र अमेरिकाको दबाब र कूटनीतिक पहलले यो वार्ता सम्भव भएको बताइएको छ । वार्ता त्यति सहज रुपमा भने भएको पाइएन । वार्तारत दुबै पक्षले शुरुमा हात समेत मिलाएनन् ।

युक्रेनी प्रतिनिधिमण्डलका आधाभन्दा बढी सदस्यहरूले सैन्य पोशाकमा उपस्थिति जनाएका थिए । उनीहरूको पोसाकले युक्रेन अझै पनि युद्धको घेराभित्र रहेको सन्देश दिइरहेको विश्लेषण गरिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच प्रत्यक्ष वार्ताको प्रस्ताव युक्रेनले गरेको थियो । तर रुसले सो प्रस्ताव अस्वीकार गरेको हो । अहिले फेरि त्यसबारे विचार गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्