सहज छैन दाउन्नेको दलदलबाट निस्कन

नवलपुर,जेठ ३ । नारायणगढ–बुटबल सडकखण्डमा सम्झौता अनुसार काम भएको भए बर्खा लाग्न थाल्यो, यात्रा कसरी गर्ने होला भनेर कसैले पनि चिन्ता लिन पर्ने थिएन । किनकि २०७९ साउन २२ गतेसम्ममा काम सक्ने गरी छ वर्षअघि चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिसँग २०७५ माघ २४ गते सम्झौता भएको थियो ।
सम्झौता अनुसार काम नभएपछि २०८० साउन ११ सम्म पहिलो पटक, २०८१ साउन ८ गतेसम्म दोस्रो पटक र २०८२ साउन ८ सम्मका लागि तेस्रो पटक म्याद थप गरिएको छ । पछिल्लो समय अन्तिम पटक भन्दै थपिएको म्याद सकिन अब झन्डै दुई महिना मात्र बाँकी छ । आयोजनाका अनुसार अहिलेसम्म सडक विस्तार आयोजनाको कुल भौतिक प्रगति ६५ प्रतिशत मात्र पुगेको छ । त्यसैले अन्तिम पटक भन्दै थपिएको समयमा पनि सडक विस्तारको कामले पूर्णता नपाउने निश्चित जस्तै छ ।
अझै पनि दाउन्नेको सडकको अवस्था लथालिङ्ग छ जसले यो मार्ग भएर यात्रा गर्ने जोसुकैको पनि एक पटक आङ सिरिङ्ङ बनाउँछ । सामान्य वर्षा हुँदा सवारीसाधन चिप्लिएर जाम हुने, भीषण वर्षा हुँदा पहिरो गएर यात्रा अवरुद्ध हुने र घाम लाग्दा अत्यधिक धुलोले यात्रा निकै कष्टकर बन्ने गरेको छ ।
हुन त आयोजनाका अनुसार अप्रिल २०२५ मा काम सुरु भएयताकै उच्च अर्थात् ३.६३ प्रतिशत भौतिक प्रगति भएको छ । मे २०२५ मा यो रेकर्डलाई समेत तोड्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । आयोजनाले वैशाखभर रातको समयमा सवारी आवागमन रोकेर दाउन्नेमा काम पनि ग¥यो तर उल्लेख्य प्रगति हुन सकेन ।
सानोतिनो पानी पर्दा त त्यसरी घण्टौँ बन्द हुने उक्त सडकखण्ड आउने मनसुनमा के होला ? भनेर सबैलाई चिन्ता र चासो लाग्ने गरेको छ । बुटवलतर्फ जाँदै गर्दा दाउन्नेमा भेटिएका कावासोतीका सुरेन्द्र बस्नेतले भने “सरकारले खुरुखुरु म्याद थपिरहने, ठेकेदारले काम नगर्ने ! वर्षा नलाग्दै त बाटोको अवस्था यस्तो छ, वर्षामा हालत के होला ?”
अहिले सामान्य अवस्थामा पनि दाउन्नेको १४ किलोमिटर सडक पार गर्न कम्तीमा तीन घण्टाको समय लाग्ने गरेको छ । वर्षा सुरु भएपछि यो बाटोको यात्रा कष्टपूर्ण र यात्रुका लागि अत्यन्तै पीडादायिक हुने र मनसुनअघि नै समस्या समाधान नगरिए बुटवल–नारायणगढ सडकखण्डमा यात्रुले थप दुःख पाउने निश्चित छ । नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी, इन्जिनियर शिव खनाल वर्षाअगाडि नै पूर्वी खण्डको दाउन्ने र दुम्किबासस्थित विनयी खोलाको डाइभर्सनमा देखिएको समस्या समाधान हुने बताउछन् ।
विनयी खोलाको नयाँ पुल निर्माणको काम वर्षाअगावै सकिने भएकाले वर्षाको समयमा विनयी खोलामा यात्रुले दुःख नपाउने उनको दाबी छ । चोरमारास्थित गिरुबारी खोलाको पुल मर्मतको काम सकिन भने समय लाग्ने खनालको भनाइ छ । वर्षामा यात्रुलाई दुःख नहोस् भनेर प्राथमिकताका साथ काम भइरहेको खनालले बताए ।
बुटवल–नारायणगढ पश्चिम खण्डका आयोजना प्रमुख शशाङ्क मिश्रले आउँदो वर्षामा दाउन्ने क्षेत्रको सडक हिलाम्मे हुन नदिन प्राथमिकताका साथ काम गरिएको भए पनि बाटोमा ‘फिलिङ’ गर्ने नदीजन्य पदार्थको अभाव रहेकाले सोचे अनुसार काम गर्न नसकिएको तर्क गरे ।
लामो समयदेखि नदीजन्य सामग्री उपलब्ध गराउन सम्बन्धित निकायमा हारगुहार गर्दासमेत एक बेल्चा गिट्टी पनि नपाएको मिश्रले गुनासो गरे । समयमै नदीजन्य सामग्री पाउने हो भने अबको दुई हप्ताभित्रमा दाउन्नेमा ब्याक कटिङको काम सकेर ग्राभेल गर्ने तयारीमा आफूहरू रहेको मिश्रले बताए ।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सडक निर्माणका लागि आवश्यक पर्ने नदीजन्य पदार्थ उपलब्ध गराउन समस्या नहुने बताउछन् । सडक निर्माणको कामलाई प्रमुख प्राथमिकतामा राखिएकाले नदी तथा खोला रहेका सम्बन्धित पालिका, वन डिभिजन कार्यालय र सामुदायिक वनसँग समन्वय गरी नदीजन्य सामग्रीको सहज निकासी दिन कुनै समस्या नभएकाले त्यसका लागि पत्राचार गरी समन्वय गर्न सडक आयोजनालाई आग्रह गरिएको प्रजिअ रेग्मीले बताए ।