टोखा-१ का जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई दुप्चेश्वर मन्दिर भ्रमण



काठमाडौं, जेठ ३ — टोखा नगरपालिका वडा नम्बर १ ले जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा महिला स्वयंसेविका र जनप्रतिनिधिहरूलाई शनिबार नुवाकोटस्थित प्रसिद्ध धार्मिक क्षेत्र दुप्चेश्वर मन्दिर भ्रमण गराएको छ।

वडा अध्यक्ष रमेशकुमार लामिछानेका अनुसार भ्रमण कार्यक्रमको सम्पूर्ण बजेट वडा कार्यालयबाट व्यवस्थापन गरिएको हो। झोरबाट सुरु गरिएको यात्रा अन्तर्गत १० वटा सवारी साधन रिजर्भ गरी सहभागीहरूलाई दुप्चेश्वर मन्दिरसम्म पु-याइएको थियो।

कुल २६५ जना सहभागीमध्ये २४० जना जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा महिला स्वयंसेविका थिए भने बाँकी २५ जना जनप्रतिनिधि तथा कर्मचारी सहभागी थिए।

पवित्र धार्मिक स्थल दुप्चेश्वर मन्दिरको एकसाथ दर्शन गर्न पाउँदा सहभागी वृद्धवृद्धा तथा अन्य सहभागीहरू अत्यन्तै हर्षित र भावविभोर देखिएका थिए।

वडा अध्यक्ष लामिछानेले सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्