विदुर नगरप्रमुखद्वारा ऐतिहासिक सिँढीको अवलोकन, मौलिक स्वरूपमा संरक्षणको प्रतिबद्धता



विदुर, जेठ ५ – विदुर नगरपालिका–१ स्थित बान्द्रे र विदुर–२ इन्द्रचोक (नुवाकोट दरबार क्षेत्र) जोड्ने ऐतिहासिक सिँढीको निर्माण तथा स्तरउन्नति कार्य विदुर नगरपालिकामार्फत अघि बढाइँदैछ। सोही सन्दर्भमा नगरप्रमुख राजन श्रेष्ठले स्थलगत अवलोकन गर्दै सिँढीको संरक्षण तथा मर्मतसम्भारका लागि आवश्यक निर्देशन दिएका छन् ।

नगरप्रमुख श्रेष्ठले सिँढीको वर्तमान स्वरूपलाई क्षति नपुग्ने गरी मर्मत तथा संरचनाको स्तरउन्नति गर्नुपर्ने धारणा व्यक्त गर्दै कामलाई मौलिक नेपाली वास्तुकलासँग मेल खाने ढंगले अगाडि बढाउन निर्देशन दिए । उनले ऐतिहासिक र धार्मिक महत्व बोकेको संरचनाको जगेर्ना र संरक्षण गर्नु नगरपालिकाको प्राथमिकता रहेको स्पष्ट पारे ।

यस अवलोकन भ्रमणमा नगरप्रमुख श्रेष्ठले सरोकारवाला व्यक्तिहरूसँग समन्वय गर्दै विदुर–१ बान्द्रेदेखि नुवाकोट दरबार हुँदै विदुर–२ मालिका मन्दिरसम्मको करिब चार किलोमिटर लामो सम्पदा पदयात्रा गरेका थिए । यस क्रममा उनले सम्पदा, धार्मिक क्षेत्र र ऐतिहासिक स्थलहरूको अवस्थाबारे जानकारी लिनुका साथै भविष्यमा अझ व्यवस्थित संरक्षण र प्रवर्द्धनका लागि योजना तयार गर्ने प्रतिवद्धता जनाएका छन् ।

नुवाकोटको सांस्कृतिक र ऐतिहासिक पहिचानलाई जगेर्ना गर्दै दिगो विकासतर्फको कदमका रूपमा यो प्रयासलाई लिइएको छ।

प्रतिक्रिया दिनुहोस्