बागमती प्रदेशसभाको बजेट अधिवेशन आजदेखि, सर्वदलीय बैठक निष्कर्षविहीन



मकवानपुर,जेठ ५ । बागमती प्रदेश सभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । यस अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८२÷८३ कोलागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुनेछ ।

सोह्रौं अधिवेशनको पहिलो बैठक आज बिहान ११ बजेको लागि आह्वान गरिएको छ । तर, आइतबार बसेको सर्वदलीय बैठकमा राजनीतिक सहमति नजुट्दा बैठक सञ्चालनमा अन्योलता देखिएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाको पहलमा बसेको हिजोको सर्वदलीय बैठक कुनै ठोस निष्कर्ष बिना सकिएको थियो ।

सरकारले विगतमा गरेको सहमती कार्यान्वयन गर्नुपर्ने, विवादास्पद रुपमा हिउँदे अधिवेशन अन्त्यका विषयमा सदनलाई स्पष्ट जवाफ दिनुपर्ने, प्रतिपक्षीलाई सरकारले गर्नुपर्ने व्यवहारमा सुधार ल्याउनुपर्ने लगायतका विषयमा छलफल भएपनि सहमती जुट्न नसकेको माओवादी केन्द्रका सचेतक रत्न ढकालले बताए ।

उनले भने, “कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर कार्यसूचि आइसकेको अवस्थामा सरकारले हठात रुपमा मन्त्रिपरिषद्बाट हिउँदे अधिवेशन नै अन्त्य गरेको छ । यसको चित्तबुझ्दो जवाफ सदन मार्फत् प्रदेशबासीलाई दिनुपर्छ, बाढी पहिरोको समयमा सरकार उद्धार राहत कार्यमा भूमिकाविहीन देखियो । यही अवस्थामा आजको सदन चल्न गाह्हो छ । मंगलबार बिहान पुनः सर्वदलीय बैठक बस्दैछ । त्यसमा पनि सहमती जुट्न नसके शुभकामना दिएपछि सदन अवरुद्ध हुन्छ ।”

सर्वदलिय बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र नेकपा एकीकृत समाजवादीका प्रतिनिधि सहभागी थिए । बागमती प्रदेशसभामा सात दलको प्रतिनिधित्व रहेको छ । नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टी बैठकमा सहभागी थिएनन् ।

प्रतिक्रिया दिनुहोस्