शिवपुरी निकुञ्ज क्षेत्रका मोटरबाटो विकासका लागि आवाज लिएर सिंहदरबारमा नेताद्वय तामाङ र केसी

काठमाडौं, जेठ ५ – “आफ्नो गाउँठाउँको विकास निर्माणका लागि हामीले आवाज नउठाए कस्ले उठाउने?” भन्ने संकल्पका साथ आज एक प्रतिनिधिमण्डल सिंहदरबार पुगेर सरकार समक्ष महत्वपूर्ण मागहरू प्रस्तुत गरेको छ।
शिवपुरी राष्ट्रिय निकुञ्ज अन्तर्गत सुन्दरीजल, मुलखर्क, ओख्रेनी, देउराली, रोल्चे, छाप, शिवालय, ज्यामिरे, सल्लाघारी हुँदै कालभन्ज्याङ–दुप्चेस्वर र गुर्जे भञ्ज्याङ हुँदै सूर्यचौरसम्म पुग्ने दुई महत्वपूर्ण मोटरबाटोलाई सुविधासम्पन्न र दिगो सडकको रुपमा दर्ता गर्न माग गर्दै उक्त प्रतिनिधिमण्डलले लिखित ज्ञापनपत्र पेश गरेको हो।
प्रतिनिधिमण्डलमा पूर्व पर्यटनमन्त्री तथा संघीय सांसद हितबहादुर तामाङ, संविधानसभा सदस्य जगदीश्वर नरसिंह के.सी. लगायतको सहभागिता रहेको थियो। उनीहरूले नेपाल सरकारका वन तथा वातावरण मन्त्री माननीय ऐनबहादुर शाही ठकुरीसमक्ष जनताको समस्या र मागहरू प्रस्तुत गरेका छन्।
स्थानीय बासिन्दाहरूका अनुसार यी क्षेत्रहरू हरेक हिसाबले पछाडि परेका भए पनि पर्यटकीय, प्राकृतिक र सामाजिक–आर्थिक हिसाबले उच्च सम्भावना बोकेका छन्। यदि यातायात पूर्वाधारमा सुधार गरिएमा स्थानीयको जीवनस्तर उकासिनुका साथै पर्यटन प्रवर्द्धनमार्फत राष्ट्रिय आयमा समेत योगदान पुर्याउन सकिने जनाइएको छ।