नुवाकोटको पञ्चकन्या गाउँपालिकाले कक्षा ५ र ८ को नियमित परीक्षाको नतिजा सार्वजनिक



नुवाकोट,जेठ ६ — पञ्चकन्या गाउँपालिका, नुवाकोटले हालै सम्पन्न कक्षा ५ र ८ को नियमित परीक्षामा विषयगत रूपमा विद्यार्थीहरूले प्राप्त गरेको ग्रेडको नतिजा सार्वजनिक गरेको छ। गाउँपालिकाका सबै वडाहरूमा रहेका सामुदायिक विद्यालयहरूबाट परीक्षामा सहभागी भएका विद्यार्थीहरूको विषयगत प्रदर्शनलाई समेट्दै शिक्षा शाखाले संख्यात्मक विवरण प्रकाशन गरेको हो।

कक्षा ८ मा २१८ विद्यार्थी परीक्षा दिएका थिए। तीमध्ये नेपाली विषयमा ७८ प्रतिशत विद्यार्थीले ग्रेड हासिल गरेका छन्। गणित र अङ्ग्रेजी दुबै विषयमा ५५.५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्। स्वास्थ्य तथा शारीरिक शिक्षामा भने ७७.१ प्रतिशत विद्यार्थीले ग्रेड हासिल गरेका छन्। समग्रतर्फ हेर्दा सबै विषयमा ग्रेड प्राप्त गर्न सफल विद्यार्थीको संख्या ७८ पुगेको छ, जुन कूल विद्यार्थीको ३५.८ प्रतिशत हो।

यसैगरी, कक्षा ५ मा जम्मा १९७ विद्यार्थी सहभागी भएका थिए। नेपाली विषयमा ९१.४ प्रतिशत, गणित र अङ्ग्रेजी दुवै विषयमा ८४.८ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्। स्वास्थ्य तथा शारीरिक शिक्षामा ८९.३ प्रतिशत विद्यार्थीले सफलता हासिल गरेका छन्। सबै विषयमा ग्रेड प्राप्त गर्न सफल विद्यार्थीको संख्या ८७ रहेको छ, जुन कुल विद्यार्थीको ४४.२ प्रतिशत हो।

गाउँपालिकाका शिक्षा शाखा प्रमुखका अनुसार यस किसिमको विवरणले विद्यालयको शैक्षिक गुणस्तरको मूल्याङ्कन गर्न सजिलो हुने र आगामी शैक्षिक योजनाहरू निर्धारण गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, शैक्षिक रूपमा कमजोर रहेका विषयहरूमा ध्यान केन्द्रित गर्दै सुधारात्मक कार्यक्रम सञ्चालन गरिने योजना रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्