नुवाकोटको तादीमा १०५ वटा मौरी घार वितरण,६५ जना कृषक लाभान्वित

नुवाकोट,जेठ ७ – तादी गाउँपालिका वडा नं ३ स्थित राउचुली मौरिपालक कृषक समूहका ६५ जना सदस्यलाई मंगलबार एक विशेष कार्यक्रमका बीच १०५ वटा मौरि घार वितरण गरिएको छ।
गाउँपालिकाका उपाध्यक्ष सन्जु प्याकुरेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममार्फत मौरि घार हस्तान्तरण गरिएको हो। मौरीपालनलाई आयमूलक पेशाका रूपमा प्रवर्द्धन गर्न र स्थानीय कृषकलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन यो कार्यक्रम महत्वपूर्ण ठानिएको छ।
उपाध्यक्ष प्याकुरेलले कार्यक्रममा सम्बोधन गर्दै भनिन, “स्थानीय स्रोत साधनको सही उपयोग गरी दिगो कृषि प्रणाली निर्माण गर्न मौरीपालन प्रभावकारी माध्यम हुन सक्छ। यसले कृषकको आय वृद्धि मात्र होइन, जैविक विविधताको संरक्षणमा पनि योगदान पुर्याउँछ।”
कार्यक्रमबाट स्थानीय स्तरमा मौरीपालन व्यवसायको विस्तार, स्वरोजगारको प्रवर्द्धन, आत्मनिर्भरतामा वृद्धि र कृषकहरूको समग्र जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। साथै, मौरीपालनले वातावरणीय सन्तुलन र कृषिजन्य उत्पादनमा समेत टेवा पुर्याउने जनाइएको छ।
कार्यक्रममा कृषकहरूको उत्साहजनक सहभागिता रहेको थियो।