कार्यालयका लागि विदुर नगरपालिकाको कम्प्युटर सहयोग

नुवाकोट,जेठ ७ । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नुवाकोट कार्यालयको सक्रियता र प्रभावकारिताका लागि विदुर नगरपालिकाले आधुनिक उपकरणहरू प्रदान गरेको छ ।
नगरका मेयर राजन श्रेष्ठले समितिको कार्यालयमै पुगेर सामग्रीहरू प्रदान गरेका हुन् । विदुर नगरपालिका–२ नुवाकोट दरबार क्षेत्रका २ सय ५० घरधुरीका उपभोक्तालाई खानेपानी उपलब्ध गराउँदै आइरहेको ‘ऐतिहासिक नुवाकोट दरबार खानेपानी तथा सरसफाइ उपभोक्ता समिति’को कार्यालय सञ्चालनार्थ विदुर नपाको तर्फबाट मेयर श्रेष्ठले कम्प्युटरलगायतका आवश्यक सामग्री उपलब्ध गराई समितिको कार्यालय सञ्चालनमा ल्याइएको छ ।
खानेपानी उपभोक्ता समितिको कार्यालयको लागी अत्यावश्यक रहेको २ थान स्टिल दरबार, कुर्ची १५ थान, टेबल १ थान, कम्प्युटर १ थान, प्रिन्टर १ थान मेयर श्रेष्ठले खानेपानी समितिलाई हस्तान्तरण गरे । उनले खानेपानी वितरण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउनको लागी निर्देशनसमेत दिए ।