चट्याङ लागेर बीरगंजमा एक जनाको मृत्यु

वीरगन्ज,जेठ ७ । हावाहुरी पानीसहित चट्याङ पर्दा आज बीरगञ्ज एक किशोरको मृत्यु भएको छ ।
चट्याङ लागेर वीरगंज महानगरपालिका वडा नम्बर ३२, टेढा गाउँ निवासी भगन माझीका १५ बर्षीय छोरा शिवशङ्कर माझीको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बुधबार बिहान करिब ४ः०० बजे शिवशङ्कर आफ्नै घरमा सुतिरहेका बेला अचानक चट्याङ परेको थियो । चट्याङ लागेपछि बेहोस भएका उनलाई उपचारका लागि गाउँ नजिकैको क्लिनिकमा लैजाँदा स्वास्थ्यकर्मीले मृत्यु भइसकेको घोषणा गरेका थिए ।
मृतक किशोरको शव पोष्टमार्टमका लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।