कालोपत्रेका लागि शिवपुरी गाउँपालिकास्थित खोलेगाउँको बाटोमा सवारी आवागमन ७ दिन बन्द

तस्वीर: प्रदीप पाण्डे ‘साइन’
नुवाकोट,जेठ ८ — शिवपुरी गाउँपालिका वडा नं. ६ स्थित पुरानो गाउँपालिका भवन–महत टोल–अम्मेटे–लप्से पुल सडक खण्डमा सडक कालोपत्रे कार्य सुरु हुने भएको छ। गाउँपालिकाले सूचित गरेअनुसार भोलि जेठ ९ गतेदेखि जेठ १५ गतेसम्म ७ दिनका लागि सो सडक खण्डमा सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द हुनेछ।
सडक कालोपत्रे कार्य सहज रूपमा सम्पन्न गर्नका लागि अस्थायी रूपमा सवारी आवागमन बन्द गरिएको गाउँपालिकाले जनाएको छ। यस अवधिमा यात्रुहरूले वैकल्पिक मार्गको प्रयोग गर्न वडा नम्बर ६ का अध्यक्ष बिष्णु श्रेष्ठले अनुरोध गरेका छन् ।
अध्यक्ष श्रेष्ठका अनुसार खोलेगाउँको आशोकको पसलदेखी लप्से पुलसम्म झण्डै ४ किलोमिटर सडक कालोपत्रेको चरणमा रहेको छ । बागमती प्रदेश सरकार अन्तर्गत भौतिक योजना तथा पूर्वाधार मन्त्रालयबाट प्राप्त रकमले सो क्षेत्रमा काम भैरहेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत वद्रीनाथ लम्सालले एक सूचनामार्फत सबै सरोकारवालालाई माफी माग्दै सहकार्यका लागि आग्रह गरेका छन्।

