चितवनमा मोडिफाई गरिएको ४३ वटा मोटरसाइकल नियन्त्रणमा

चितवन,जेठ ९ । चितवन प्रहरीले स्वरुप परिवर्तन (मोडिफाई) गरिएका ४३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन तथा मातहत प्रहरी टोलीको संयुक्त सक्रियतामा ती सवारीसाधनहरू नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार बिभिन्न कम्पनीबाट निर्माण भई बिक्री वितरणमा आइसकेका मोटरसाइकलहरूलाई सवारीधनी तथा चालकहरूले आफुखुसी परिवर्तन गरी ठूला आवाज निकाल्ने साइलेंसर जडान, हेन्डल र लाइट परिवर्तन तथा प्रेसर हर्न जस्ता सामाग्री थपेका थिए ।
यस्ता परिमार्जनहरूले ध्वनि प्रदूषणका साथै सडक सुरक्षामा समेत प्रतिकूल असर पुर्याउने भएकाले नियन्त्रणमा लिइएको जनाइएको छ । नियन्त्रणमा लिइएका सवारीसाधनलाई पुनः पूर्ववतरूपमा ल्याउन लगाइएको छ ।
साथै, सवारी चालकहरूलाई ट्राफिक तथा कानुनी सचेतनामूलक कक्षा गराई, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार जरिवाना तिराएर छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रविन्द्र खनाले जानकारी दिए ।
प्रहरीले यस किसिमका अवैध परिमार्जन गर्ने कार्यविरुद्ध निगरानी बढाइएको समेत जनाएको छ ।