लिखु गाउँपालिकालाई “पालिकास्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपन” घोषणा

नुवाकोट,जेठ ९— नुवाकोटको लिखु गाउँपालिकालाई “पालिकास्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपन” घोषणा गरिएको छ। १५ महिनासम्मका सबै बालबालिकाले आवश्यक सम्पूर्ण खोप प्राप्त गरिसकेको पुष्टि भएपछि गाउँपालिका उपाध्यक्ष सुभद्रा अधिकारीले औपचारिक रूपमा उक्त घोषणा गरिन ।
घोषणा कार्यक्रमको अवसरमा प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट, वडा नं १ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता नरहरि पाण्डे, जनस्वास्थ्य कार्यालय नुवाकोटका खोप अधिकृत अमृत महर्जन, स्वास्थ्य शाखा प्रमुख भीम रोक्का, सबै स्वास्थ्य संस्था प्रमुख, स्वास्थ्यकर्मी, विद्यालय नर्स तथा महिला स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्वास्थ्य क्षेत्रमा लिखु गाउँपालिकाले पुर्याएको उपलब्धिलाई सराहना गर्दै सहभागीहरूले खोप कार्यक्रमलाई थप दिगो बनाउँदै भविष्यमा पनि यस प्रकारका सामुदायिक स्वास्थ्य पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।