नुवाकोटको बट्टारमा ‘शिवालय सिनेप्लेक्स’ हल सञ्चालन, स्थानियस्तरमै स्तरीय सिनेमाको मजा

नुवाकोट, जेठ ९ | बट्टार पुरानो बजारमा आजबाट आधुनिक प्रविधियुक्त सिनेमा हल ‘शिवालय सिनेप्लेक्स’को औपचारिक शुभारम्भ गरिएको छ। स्थानीय व्यवसायी सन्तोष अधिकारीको लगानीमा निर्माण भएको यो सिनेमा गृहले अब दर्शकहरूलाई अन्तर्राष्ट्रिय स्तरको चलचित्र अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।
पूर्व जगदम्बा हलको स्थानमा निर्माण गरिएको यस नयाँ सिनेप्लेक्समा अत्याधुनिक साउण्ड सिस्टम, एयर कन्डिसन, नयाँ प्रोजेक्सन पर्दा, सुविधासम्पन्न शौचालय तथा २४० दर्शक क्षमता सहितको सिट व्यवस्था गरिएको छ। नेपाली, हिन्दी तथा हलिउड चलचित्रहरू नियमित रूपमा प्रदर्शन गरिने जानकारी सञ्चालकले दिएका छन्।
उद्घाटनको पहिलो दिन बहुप्रतीक्षित नेपाली चलचित्र ‘नरसिंहा’ प्रदर्शन भएको छ । दर्शकहरूले १२:१५ बजे, ३:१५ बजे र ७:१५ बजे गरी तीन शोमा चलचित्र हेरेका छन् ।
यसअघि नुवाकोटमा सञ्चालनमा रहेका बनदेवी हल र त्रिशुली हल जस्ता सिनेमा गृहहरू प्रविधिको अभाव तथा प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका थिए। तर, दर्शकको चाहना, सुविधा र प्रविधिलाई ध्यानमा राख्दै निर्माण गरिएको ‘शिवालय सिनेप्लेक्स’ले स्थानीय मनोरञ्जन क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।
सञ्चालक सन्तोष अधिकारीका अनुसार “पुरानो जगदम्बा हलको ऐतिहासिक स्मृतिलाई जोगाउँदै आधुनिक स्वरूपमा पुनर्निर्माण गरिएको शिवालय सिनेप्लेक्स सबै उमेर समूहका दर्शकका लागि मनोरञ्जनको उत्कृष्ट गन्तव्य बन्नेछ।”